‘हिजोको योगदान अनुसार महिलालाई सम्मान गर्न सकिएन, कार्यकारी पदमा बञ्चित गरिएको छ । बाध्यतात्मक अवस्थामा बाहेक अरु ठाउँमा पुरुषहरुले महिलामाथि उपेक्षा गरे ।’ दाङ घोराही उपमहानगरपालिका १८ कि प्रमिता चौधरीले भन्नुभयो । उहाँले अगाडी भन्नुभयो, ‘बाध्यतात्मक कानुन नबन्दासम्म महिला अधिकार कार्यान्वयन हुन सक्दैन । अब सय वटै वडामा महिला महिलाबीच प्रतिष्पर्धा गराउन सक्नुपर्छ ।’

चौधरीले गुनासो गरेको जस्तै दाङका महिलाहरुले स्थानीय तहको निर्वाचनमा आफूहरुको प्रतिनिधित्व कम हुने गरेको गुनासो गर्नुभएको छ । महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले मंगलबार आयोजना गरेको स्थानीय निर्वाचनमा महिला नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले महिलाहरुलाई राजनीतिक दलहरुले नै निर्वाचनमा भाग लिन वञ्चित गरेको गुनासो गर्नुभयो ।
दंगीशरण गाउँपालिकाकी सितारा नेपाली वादीले पनि महिलाको सामुहिक मुद्दामा महिला नै एकजुट हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय पैसाको आडमा राजनीति गर्नेहरुले निष्ठाको राजनीति गर्नेहरुलाई पछाडी पार्ने काम गर्न थालेपछि उत्पीडित, गरिब महिलाले अधिकार कहिले पाउने भन्दै उहाँले प्रश्न गर्नुभयो ।
‘महिलाको सामुहिक मुद्दामा महिला एकजुट हुनुपर्छ तर हामीमा विभेद छ । त्यसैले धन हुनेहरुले पैसाको राजनीति गर्न सिके, पैसाले राजनीति गर्ने कि विचारको राजनीति ? उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘उत्पीडित, गरिव महिलाले अधिकार कहिले पाउने ? निर्णायक तहमा बस्ने तर गुनासा नसुन्ने परिपाटीले समस्या समाधान गर्न चुनौति भएको छ । महिलालाई पनि काम गर्ने स्थान र अवसर दिनुस् ।’
तुलसीपुर उपमहानगरपालिकाकी सुष्मा लामिछाने गिरीले पुरुषसँग राजनीतिक अधिकारी माग्नु कुनै भीख मागे जस्तो नठान्न चेतावनी दिनुभएको छ । राजनीतिक मागलाई गम्भीरताका साथ लिन आग्रह गर्दै उहाँले महिलालाई पाखा लगाउने कामले लोकतन्त्र सबल बन्न नसक्ने तर्क बताउनुभयो ।
‘महिलाले नेतृत्व हाक्न सक्छन् भन्ने विश्वास जगाउन अवसर चाहिन्छ । सहभागीतामा पनि महिलाको भुमिका निर्णायक हुनुपर्छ, उहाँले भन्नुभयोृ, ‘पुरुषसँग भीख होईन यो अधिकार मागेको हो । यो हाम्रो राजनीतिक माग हो । महिलालाई पाखा लगाउने कामले लोकतन्त्र सबल बन्न सक्दैन ।’
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राजीनितक दलका तर्फबाट गरिने उम्मेदवार सिफारिसमा महिलाहरु जहिले पनि दोश्रो नम्बरमा पर्ने गरेको महिलाहरुको गुनासो गरेका छन् । उनीहरुले यो पद्धति सच्याउनुपर्ने मागसमेत गरेका छन् ।
तुलसीपुर ६ की हरिकला वली मियाले महिलालाई निर्वाचनमा स्वतन्त्र रुपमा उठ्न रोक लगाउने काम पुरुष नेताबाट हुने गरेको बताउनुभयो । उहाँले आन्दोलनमा समान रुपमा होमिएका महिलाई अहिले आएर यो वा त्यो बहानामा थिचोमिचो पार्ने काम भएको बताउनुभयो । ‘स्वतन्त्र रुपमा उठ्न पुरुष साथीहरुबाट हामीलाई रोक लागेको छ,’ उहाँले भन्नुभयो, हामी बारम्बार थिचोमिचो हुनुपरेको छ अब निर्णायक पदमा भुमिका चाहिन्छ ।’
बबई गाउँपालिका वडा नम्बर ३ की दिपा केसीले पुरुष समान अधिकार महिलाले पनि पाउनु पर्ने आवाज उठाउनुहुन्छ । कार्यक्रममा स्टेज सजाउन र तालि पिट्न प्रयोग गरिने महिलाहरुलाई बारम्बार अवसरबाट वन्चित गरिएको तर्क गर्नुभयो । ‘पुरुष समान अधिकार महिलाले पाउनुपर्छ, खाली हामीलाई कार्यक्रममा स्टेज सजाउन र तालि पिट्न प्रयोग भयो । यसरी राजनीति चल्दैन । हैन भने सबै भाले दल बनाए भै हाल्यो नी,’ उहाँले भन्नुभयो ।
तर, घोराही १५ की विष्णु कालाथोकी भने आफु आवद्ध दलबाट महिलाहरुले अवसर पाएको दावी गर्नुभएको छ । ‘जिल्लाको सय वटै वडामा महिलाले प्राथमिकता पाएका छन् । अध्यक्षसहित पाँच वटै नेतृत्व चयन भएको हुँदा अरु स्थानमा पनि महिलाले भुमिका पाउने आशा छ,’ उहाँले भन्नुभयो, ‘संविधानले प्रत्याभुत गरे अनुसार सर्वसहमतिमा सदस्यमा उमेदवार बनाइएको छ ।’
कार्यक्रममा सहभागी अधिकांश महिलाले यो पटकको स्थानीय निर्वाचनमा उमेदवारको आकांक्षा देखाएका छन् । जसका लागि अरुले दिएको पदमा नभई आफुले खोजेको पदमा प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ । अवसर दिए पुरुष उम्मेदवारले भन्दा राम्रो काम गरेर देखाईदिने उनीहरुको विश्वास छ ।

तपाईको प्रतिक्रिया