
काठमाडौं । सरकारले विलासिताका वस्तुको आयत प्रतिबन्धलाई निरन्तरता दिएको छ। केही समय अगाडि सरकारले डलर सञ्चिती कम भएको भन्दै विलासिताका वस्तुहरूमा रोक लगाएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशन गर्दै साउन १ गतेबाट भाद्र १४ गतेसम्म सरकारले १० वस्तुहरूको आयातमा रोक लगाएको हो। सरकारले असार ३१ राजपत्र जारी गर्दै कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिराहरूमा पनि रोक लगाएको छ। यस्तै औद्योगिक कच्चा पदार्थ बाहेकका चुरोट तथा सुर्तीजन्य वस्तुहरू, हिरा, स्मार्ट फोनहरू, ३२ इन्च भन्दा माथिका रङ्गिन टेलिभिजन आयतमा पनि सरकारले आयातमा रोक लगाएको छ।
भाद्र १४ गतेसम्म जिप, कार र भ्यानहरू आयातमा रोक लगाइएको छ तर एम्बुलेन्स र शववहानहरु भने आयात गर्न पाइने उल्लेख छ। यस्तै १५० सी.सी. भन्दा माथिका मोटरसाइकलमा पनि रोक लगाएको छ। सरकारले सबै प्रकारका खेलौनाहरू र खेल्ने तासहरूमा रोक लगाएको छ। साउन १ गतेभन्दा अगाडि बैंकका माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका १५० सी.सी. सम्मका मोटरसाइकल र ३०० देखि ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा भने यो व्यवस्था लागु नहुने राजपत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया