लालमटियामा पौष २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुने, जलपरी मुख्य आकर्षण

 

 

देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले सोमबार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुडिखेलमा ‘सातौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुने जानकारी गराएको छ ।

‘‘कृषि, पर्यटन तथा कला संस्कृतिको पहिचान, सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०८२ को सान’’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । संयोजक खड्काले भने ‘राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा यहि पुष २५ गतेदेखि माघ ११ गतेसम्म लालमटियामा महोत्सव सञ्चालन हुने छ ।’

महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरु राखिने छ भने करीब १ लाख २० हजार दर्शकले महोत्सवको अवलोकन सहित १ करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । महोत्सवबाट आम्दानी भएको रकमबाट उद्योग बाणिज्य संघको भवन र्ममत तथा व्यवस्थापनमा खर्च गरिने संयोजक खड्काले बताए ।

 

महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजको दावी रहेको छ । संघका महासचिव बासुदेव न्यौपानेले राजधानी क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्रलाई अगाडी बढाउन महोत्सवको मुख्य भुमिका रहेन बताए । न्यौपानेले भने ‘यस क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान झल्काउने एउटा छुट्टै स्टल रहनेछ ।’

महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । महोत्सवमा पर्यटन तथा कृषिका लागि २० वटा स्टल निःशुल्क रुपमा छुट्टाइएको छ । यस पटको महोत्सवमा जलपरी समेत ल्याइने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहनेछन् । विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा समेत गराईने संघले जनाएको छ ।

महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती समेत हुने छ । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् ।

महोत्सवको उद्घाटनका दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम, द्धितिय र तृतिय हुने झाँकीहरुलाई क्रमस १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरीनुको साथै झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरीने छ ।

संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसमा सुरज खड्काको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बसन्त गिरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, बासुदेव न्यौपानेकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति र झाँकी व्यवस्थापन उपसमिति, चन्द्र प्रकाश आचार्यको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, जगत प्रसाद पोख्रेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, विष्णु प्रसाद बोहराको संयोजकत्वमा आर्थिक उपसमिति, मोहन आचार्यकोे संयोजकत्वमा स्टल तथा कृषि व्यवस्थापन उपसमिति, हिमानन्द पाण्डेको संयोजकत्वमा अनुगमन उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, बिनोद कुमार पाण्डेयको संयोजकत्वमा यातायात उपसमिति र चन्द्र प्रकास आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुरज खड्का, बरिष्ठ उपाध्यक्ष बसन्त गिरी, उपाध्यक्ष चन्द्र प्रकास आचार्य, महासचिव बासुदेव न्यौपाने लगायत विभिन्न संचार माध्यमका संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव बासुदेव न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया