दाङ–झापाको मेची पुलबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा दाङ आइपुगेको छ। लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको उद्धार टोलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन्।

सो अवसरमा मुख्यमन्त्री आचार्यले आगामी बर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको सुनाए। चालु वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकतासाथ सम्वोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी बर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने जानकारी दिए।
असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धारटोली १३ औं दिनमा लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका देउखुरी आइपुगेको हो।
मानवको हिसावले बाच्न पाउने वातावरण सुनिश्चित गरिने आचार्यको भनाइ छ। ‘यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ। मानव भएर मानवको हिवासले बाच्न पाउनुपर्छ’उनले भने,‘प्रदेश सरकार साझेदारी रुपमा यो अभियानमा जोडिन चाहन्छ। हामी आउने बर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहनेगरी सडक आश्रित मानव मुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौं।’
लुम्बिनी प्रदेश भित्र रहेका मानव सेवा आश्रमको विवरण र त्यहाँ आश्रितहरुको विवरण संकलन गरिने समेत जानकारी दिए। अभियानको क्रममा एक सय २८ सडक आश्रित मानवको उद्धार गरिएको छ। लुम्बिनी प्रदेशका जिल्लाबाट हालसम्म २८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।

लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन्। मेची–महाकाली यात्रामा रहेको उद्धार टोलीमा सहभागीलाई मुख्यमन्त्री आचार्यले स्वागत सम्मान गरेका छन्।
आचार्यले टोलीमा सहभागी आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई मायाँको चिनो प्रदान गरेका थिए। स्वागत कार्यक्रममा प्रमुख सचिव महादेव पन्थ, सचिवहरु कृष्ण पौडेल, ईश्वरराज पौडेलको समेत सहभागिता थियो।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ। यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मी छन्। मानवसेवा आश्रमको ७ वटा प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालनमा छन्। पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७ सय ५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३ सय ४ जनाको उद्धार भएको थियो।
यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ। मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङकल्प गरेको छ।

तपाईको प्रतिक्रिया