राप्ती नदिमा अझै डुंगाको यात्रा

दशरथ घिमिरे

 

देउखुरी । लमही नगरपालिका–९ तरुलिया निवासी शेरबहादुर बोटेलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउँदा चिन्ताले सताउँछ । राप्ती नदी डुंगाबाट तरेर जानुपर्ने भएपछि शेरबहादुरलाई आफ्ना छोराछोरीको पिरले सताउने गरेको हो । दुई वर्षअघि डुंगा पल्टिदा विद्यार्थीहरु पौडिएर जोगिएका थिए । तर यो स्थानमा अहिलेसम्म पुल बनेको छैन । ‘यहाँ पुल चाहियो भनेर धेरै बोलियो, माग राखियो तर अहिलेसम्म सुनुवाइ भएन’– शेरबहादुरले भन्नुभयो– ‘एकपटक छोराछोरी चढेको डुंगा डुबेपछि त्यो कुराले सधैं सताउँदो रहेछ ।’

तरुलियाका विद्यार्थी राजपुर गाउँपालिका–९ स्थित सिक्टा स्कुलमा पढ्न जान्छन् । संघीय सरकारले तरुलिया–राताकाँश जोड्न पक्की र झोलुंगेपुलको योजना प्रस्ताव गरिएको थियो । तर पुल बनाउने योजना अघि बढेको छैन । यी केही उदाहरण हुन् । दाङ जिल्लामा अझै पनि डुंगाको जोखिमपूर्ण यात्रा हुने गरेको छ । राप्ती नदीको केही स्थानमा पक्की पुल बने पनि नागरिकहरु अझै डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तरुलिया–राताकाँश, अमिलिया–हाडबाँसका स्थानीयहरु अहिले पनि डुंगाबाट यात्रा गर्दै आएका छन् । नदीमा आउने बाढीले भने स्थानीयहरुलाई त्रास थप्ने गरेको छ । राप्ती नदीमा चारवटा नयाँ पक्की पुल बने पनि डुंगाको जोखिमपूर्ण यात्रा अझैहटेको छैन ।

लमही नगरपालिका–९ र राजपुर गाउँपालिकाको वडा नं. ७ जोड्ने दुई स्थानका नागरिकहरु अहिले पनि डुंगाबाट नदी तर्दै आएका छन् । यसरी डुंगाको यात्रा गर्दा जोखिम त छँदैछ त्यसमा पनि स्कुले विद्यार्थीलाई सास्ती हुने गरेको छ । दुई वर्षअघि मात्रै स्कुले विद्यार्थी चढेको डुंगालाई बाढीले बगाएको थियो । पौडिएर विद्यार्थीहरुले ज्यान जोगाउन सफल भएका थिए । तर अहिलेसम्म पनि पुल नबन्दा डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘झोलुंगे पुल टाढा छ । हाम्रो गाउँमा पुल बन्नुपर्ने थियो तर बनेन’– स्थानीय विष्णुप्रसाद कुमालले भन्नुभयो– ‘नदी वारपार गर्न सधैं डरैडर ।’

अमिलिया र हाडबास जोड्ने स्थानमा पनि पुल छैन । स्थानीयहरु अहिले पनि डुंगाबाट यात्रा गर्न बाध्य छन् । यी दुई स्थानमा झोलुंगे र पक्की पुल पुल बनाउने बारेमा विभिन्न समयमा सर्भे भएका छन् । तर पर्याप्त मात्रामा ध्यान नपुग्दा पुल बन्न सकेको छैन । स्थानीयहरुले छिटो पुल बनाउन माग राखेका छन् । बेला बखत आइपर्ने प्राकृतिक विपत्बाट प्रभावित नागरिकहरुको खोज तथा उद्धारमा समेत समस्या पर्ने, आगलागी हुँदा होस् या अन्य कुनै जोखिम परेको बेलामा समेत सहयोग सामग्री पु¥याउन समेत सास्ती हुँदै आएको छ ।

‘आगलागी हुँदा दमकल समेत आएन । नदीमा पुल नभएकाले विपत्को बेलामा सारै दुःख हुने’– स्थानीय मानबहादुर ओलीले भन्नुभयो– ‘बिरामी हँुदा महिला, बालबालिका, बृद्धहरुलाई झनै समस्या छ ।’ अमिलिया–हाडबाँस जोड्न झोलुंगे पुल बनाउन झण्डै एक करोड बजेट विनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी बजेट विनियोजन गरेको स्थानीय नन्दलाल ओली (नवीन) ले जानकारी दिनुभयो । ‘यो बजेट अनुसार पुल निर्माण भएको खण्डमा आउन जान सजिलो हुनेछ’– उहाँले भन्नुभयो– ‘पुल निर्माणको काम अघि बढेर चाँडै सम्पन्न होस् ।’

तपाईको प्रतिक्रिया