दशरथ घिमिरे

दाङ– दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ। कम्पनीले जिल्लाका विभिन्न स्थानबाट ६३ लाख ७१ हजार आठसय आठ रुपियाँ मूल्यको खसी–बोका खरिद गरेर काठमाडौँ पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए।
उनका अनुसार कम्पनीले तीनसय ४६ वटा खसी र ४० वटा बोका खरिद गरेको हो। चारसय वटा खरिद गर्ने भनिए पनि तीनसय ८६ वटा खसी खरिद गरी पठाएको प्रमुख सुनारले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष व्यापार कम्पनीले खसीबोका खरिद गरेर काठमाडौँ पठाउने गरेको छ। यस वर्ष जिल्लामा खसीको मूल्य वृद्धि गरिएको थियो। बोकाको मूल्य घटाएको थियो।
यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी पाँचसय ६० रुपैयाँ र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँचसय ४० निर्धारण गरिएको थियो। समग्रमा खसीको मूल्यमा पाँच रुपैयाँ वृद्धि भएको र बोकाको मूल्यमा दुई रुपैयाँले घटाइएको थियो।
अघिल्लो वर्ष केजीअनुसार मूल्य निर्धारण गरिएको थियो। यसपटक खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिएको प्रमुख सुनारले बताए।
उनका अनुसार अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दामाथिको प्रतिकेजी पाँचसय ६२ रुपैयाँ प्रतिकेजी तोकिएको थियो। खसी २० देखि २५ केजीसम्मको प्रतिकेजी पाँचसय ४५ रुपियाँ निर्धारण गरिएको थियो।
बोका १८ केजीभन्दामाथि प्रतिकेजी पाँचसय ४२ रुपियाँ निर्धारण गरेर खरिद गरिएको थियो। गतवर्ष जिल्लाबाट सातसय ५६ वटा खसी–बोका खरिद गरिएको थियो।
दाङमा कम्पनीले तुलसीपुर र देउखुरीलगायतका क्षेत्रबाट खसी–बोका खरिद गरेको हो। चाडपर्वको समयमा काठमाडौँमा हुनसक्ने मासुको अभावलाई टार्नका लागि खाद्यले प्रत्येक वर्ष जिल्लामा खसी–बोका खरिद गरेर काठमाडौँ पठाउने गरेको प्रमुख सुनारले बताए।


तपाईको प्रतिक्रिया