बासुदेव न्यौपाने / देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक भएको छ । गत हप्ता भएको सातौ अधिवेशनमा सर्वसम्मत कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन समितिले निर्वाचनको तालीका सार्वजनिक गरेको हो । नयाँ कार्यसमितिका लागि कार्तिक १० गते मतदान हुने निर्वाचन समितिका संयोजक महेशचन्द्र रिजालले जानकारी दिए ।
समितिले जारी गरेको सुचना अनुसार असोज २१ गते मतदाता नामावली प्रकाशन भएको छ । त्यसैगरी मतदाता नामावलीमा दावि विरोध, अपुग विवरण पेश गर्ने, नाम थर फर्मको नाम सच्याउन असोज २९ र ३० गतेका लागि तोकिएको छ भने अन्तिम मतदाताको नामावली ३० गते बेलुका ४ बजे प्रकाशन गरिने छ ।
उम्मेदवारहरुको उम्मेदवारी दरखस्त कार्तिक १ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहने र उम्मेदवारहरुको नामावली सोही दिन ४ बजे प्रकाशन गरिने निर्वाचन समिति संयोजक रिजालले बताए । यसैगरी उम्मेदवारहरुको दावी विरोध कार्तिक २ गते साँझ ३ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली कार्तिक २ गते साँझ ४ बजे प्रकाशन गरिने छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय कार्तिक ३ गतेदेखि ४ गते साँझ ६ बजेसम्मका लागि ताकिएको छ । उम्मेदवारहरुको पुनः अन्तिम नामावली प्रकाशन कार्तिक ५ गते बिहान १० बजे गरिने छ ।
संयोजक रिजालका अनुसार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह कार्तिक ५ गते बिहान १०ः३० देखि दिउँसो १ बजेसम्म प्रदान गरिने छ । चुनाव प्रचार प्रसारका लागि कार्तिक ५ गते साँझ ५ बजेदेखि कार्तिक ८ गते राती १२ बजेसम्मका लागि समय निर्धारण गरिएको छ । त्यसैगरी मौन अवधि कार्तिक ९ गते १ बजेदेखि राती १२ बजेसम्म रहने छ ।
कार्यसमिति चयनका लागि कार्तिक १० गते बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने संयोजक रिजालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया