दाङ- बुटवलमा छाडा साँढेको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ। साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।

गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल- ३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन्।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दुध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन्।
दुईवटा साँढे जुध्दै गरेका बेला दुध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भएकी थिइन्।
मृतक पाण्डेका आफन्त चेतनारायण भण्डारीले सीतालाई जुधिरहेका साँढेमध्ये एउटाले एक्कासी हिर्काएर लडाएको बताए।
उनले उपमहानगरले छाडा चौपाया व्यवस्थित गर्न नसक्दा सीताको ज्यान गएको भन्दै यसको जिम्मेवारी उपमहानगरले लिनुपर्ने बताए।
भण्डारीले उपमहानगरसँग मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेर ज्ञापनपत्र पनि दिएको तर कुनै रेस्पोन्स नआएको जानकारी दिए।
बुटवल उपमहानगरले बुटवलकै शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि पूर्णरूपमा नियन्त्रण नहुँदा सडकमा सवारीसाधन दुर्घटनाको जोखिम छ।

तपाईको प्रतिक्रिया