
देउखुरी । साउन शुक्लपक्ष नागपञ्चमी पर्व। पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । दाङ लमहीमा पनि यो पर्व मनाउन थालिएको छ । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ। आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउँने गरेको स्वर्गद्वारी कस्यव समाजका अध्यक्ष पिन्टु गुप्ता ले जानकारी दिए ।
गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन्। यसलाई गोबर चक्र भनिन्छ। सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ। यसपछि दूध र चनाको घुघरी ९भिजाएको काँचो चनाबाट बनाइएको परिकार० नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ। योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ।
यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ। यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो। यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ। घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक लत्ताकपडासहितको गठरी सामथ्र्यअनुसार भाइ वा बुबाले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको समाजका अग्रज पिन्टु कुमार गुप्ताले बताए ।
यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ। गाउँघर, टोल समुदायमा पिङ ९झुला० हाल्ने गरिन्छ। युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने चलन छ। साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अगुवा बिरेन्द्रकुमार गुप्ताले बताए ।
उनका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ। यस दिन घरमा पाहुनालाई बोलाई सेवा सत्कार गरिन्छ। यो पर्व समुदायमा आदिकालबाट चलिआएको परम्परा हो ।
स्वर्गद्वारी कश्यप समाज समिति, लमहीका महिला सदस्य सन्तोष मन्त्रिका अनुसार जादुगर (मदारी) ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ। स्वास्थ्यको हिसाबले वर्षात्को मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ। त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी ९गेडागुडी पोषिलो खान० खाएर शरीरलाई बलियो बनाउने परम्परा छ।
गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ। भगवान् कृष्णले नागलाई नाथेका थिए। उनलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो। सर्प शत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ। सर्पलाई दूध र चना खुवाउने गरिन्छ। परापूर्वकालबाट गुडिया र होलीपर्व एकै दिन ९बार० मा पर्ने गर्दछन्। यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कायम गर्ने पर्वका रूपमा लिइएको छ

तपाईको प्रतिक्रिया