दशरथ घिमिरे

देउखुरी । दाङको सीमा नाका क्षेत्रमा औलो संक्रमण फैलिएको छ । राजपुर गाउँपालिका–७ भैंसाही नाकामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएका बिरामीको संख्या बृद्धि भएको स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले जानकारी दिनुभयो । बिरामीको उपचारको लागि स्वास्थ्यकर्मीको टोली भारतको बाटो हुँदै भैंसाही नाका पुगेको छ ।
औलोबाट एकजनाको उपचारको क्रममा मृत्यु भएपछि भैंसाही नाकामा औलो संक्रमण फैलिएको पुष्टि भएको हो । राजपुर गाउँपालिका–७ भैंसाही नाका निवासी २५ वर्षीया डिलसा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले बताउनुभयो । उहाँका अनुसार टिएफ मलेरिया अर्थात् कडा खालको औलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो । एक दशकयता नेपालमा औलो संक्रमणबाट मान्छेको मृत्यु नभएको, यो घटना सम्भवतः पहिलो भएको जानकारी आचार्यले दिनुभयो । ‘एक दशकको अवधिमा औलो लागेर मृत्यु भएको घटना थिएन । यो नै पहिलो हुन सक्छ’– उहाँले भन्नुभयो– ‘समयमा अस्पताल पु¥याउन नसक्दा, उपचार नपाउँदा एकजनाको मृत्यु हुन पुग्यो ।’
कडा खालको ज्वरो आएपछि मात्रै घर परिवारका सदस्यले उपचारको लागि अस्पताल पु¥याएका थिए । बेहोश अवस्थामा अस्पताल पु¥याइएको थियो । सघन उपचार कक्षमा राखेर उपचार शुरु गरिएको भए पनि स्वास्थ्य अवस्थामा सुधार आउन सकेन । जसले गर्दा उहाँको मृत्यु हुन पुग्यो । उपचारको लागि अस्पताल पु¥याउन ढिलाइ भएका कारण बुढाको मृत्यु भएको हो । ‘औलो उपचार पछि निको हुन्छ । उपचारको लागि अस्पताल पु¥याउन ढिलाइ हुँदा बिरामीको अवस्था जटिल भएको देखिन्छ’– स्वास्थ्य कार्यालयका निमित्त प्रमुख आचार्यले भन्नुभयो– ‘केही दिनअघि बुढाको नन्दको पनि मृत्यु भएको थियो । त्यो मृत्यु औलोबाट भएको हो होइन भन्ने बारेमा पुष्टि भने हुन सकेको छैन ।’
भैंसाही नाकामा औलो संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । नेपालको बाटो भएर प्रभावित क्षेत्र जान नसक्ने अवस्था भएपछि कोइलावास नाका भएर भारतको बाटो हुँदै भैंसाही नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ । स्वास्थ्य कार्यालयका औलो फोकल पर्सन कमल चन्दसहित, राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायलगायतको स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । ‘बाटो राम्रो भएको भए बिरामीलाई उपचारको लागि दाङको अस्पताल ल्याउन सकिन्थ्यो । बाटो राम्रो नभएकै कारण भारतको बाटो भएर बाँके लगिएको थियो । हामी पनि उपचारको लागि जाने टोली कोइलावासबाट भारतको बाटो भएर जानुप¥यो’– राजपुर स्वास्थ्य शाखा प्रमुख कमल रोकायले भन्नुभयो– ‘औषधि उपचारसहित, परीक्षणको सामग्री लिएर जाँदैछौं ।’ भैंसाही नाकामा ज्वरो आएका बिरामी दशजना भन्दा बढी छन् । औलो संक्रमण फैलिएकाले उपचार टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
औलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । औलो लागेका बेलामा ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेंलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन शुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्ने जोखिम रहने स्वास्थ्य कार्यालयले जनाएको छ । भैंसाहीं नाका भारतसँग जोडिएको छ । सिमावर्ती क्षेत्रको बस्ती भएकाले यहाँका मानिसहरुको आउजाउ भारतमा हुन्छ । यहाँ करिब दुई सय घरधुरीको बसोवास छ । छिमेकी गाउँहरु खिड्की, स्याउले, मनौरा छन् । सरकारले सन् २०२५ सम्म औलो न्यूनीकरण गर्ने संकल्प गरेको छ तर यसरी संक्रमित फेला पर्न थालेपछि यो अभियानमा चुनौती थपिदै गएको छ । भारतबाट नेपाल आउने व्यक्तिहरुमा औलोको संक्रमण धेरै देखिने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
जसको उपचार नपाई मृत्यु भयो
राजपुर गाउँपालिका वडा नं. ७ स्थित जेलबाङ खोला नाका निवासी मानबहादुर बुढाकी १५ वर्षीय छोरी कृष्णा बुढाको उपचार नपाई केही दिनअघि मृत्यु भयो । कृष्णा केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । ज्वरो आउने समस्या देखिएको थियो भने गालामा घाउ बनेको थियो । नाका क्षेत्रमा यातायातको सुविधा नभएकै कारणले समयमै उपचार गर्न नपाउँदा बिरामी कृष्णाको मृत्यु भएको भनाइ स्थानीयको छ । बिरामी थलिएपछि छिमेकी देश भारतको सिरसिया बजारस्थित अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि औषधि दिएर घर फर्काइएको थियो । घर फर्किएको दुई दिनपछि साउन १८ गते बेलुका कृष्णाको मृत्यु भएको छ ।
सातजना निको भए
दाङ जिल्लामा आर्थिक वर्ष २०८०÷०८१ मा औलो संक्रमण पहिचानका लागि गरिएको परीक्षणको क्रममा भेटिएका सात जना बिरामी उपचारपछि निको भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । गत वर्ष दश हजार तीन सय ८४ जनाको रगत परीक्षण गरिएकामध्ये सात जनामा औलो भेटिएको थियो । घोराही उपमहानगरपालिकामा दुई, दंगीशरण गाउँपालिकामा एक, लमही नगरपालिकामा तीन, राप्ती गाउँपालिकामा एकजना बिरामी फेला परेका थिए । भेटिएकामध्ये सबै उपचारपछि निको भएको सूचना अधिकारी गजेन्द्र यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया