देउखुरीमा औलो संक्रमण बाट एक जनाको मृत्यु, कसरी बच्ने औलाबाट ?

देउखुरी । दाङ देउखुरीमा औलो संक्रमणबाट एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ भैंसाही नाका निवासी २५ बर्षिय डिलशा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले पुष्टि गरे। उनका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औंलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो।

 

एक दशक यता नेपालमा औंलो संक्रमणबाट मान्छेको मृत्यु नभएको, यो घटना सम्भवतः पहिलो भएको जानकारी आचार्यले दिए। कडा खालको ज्वरो आएपछी मात्रै घर परिवारका सदस्यले उपचारको लागी अस्पताल पुर्‍याएका थिए। बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको थियो। सघन कक्षमा राखेर उपचार सुरु गरिएको भएपनि स्वास्थ्य अवस्थामा सुधार आउन सकेन।

के हो औलो रोग ?

सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो।

यसका लक्षणहरु के के छन् ?

  • १० देखि १५ दिनसम्म ज्वरो आउनु
  • टाउको दुख्नु
  • शरीरका भित्रि अंग सुन्निनु
  • जोर्नी दुख्नु
  • शरीरमा रगतको मात्रा कम हुनु
  • थकित महसुस हुनु

औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निशुल्क छ।

औलोबाट बच्ने उपाय

औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ। त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरु अपनाऔ :

  • झुल टाँगेर सुत्ने
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
  • सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने
  • लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
  • लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने

लामखुट्टे नियन्त्रण गर्ने उपाय

  • घर वरिपरि कार्यालय विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने
  • पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
  • गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने।

तपाईको प्रतिक्रिया