प्रदेश सरकारको रफ्तार बढाउने नव नियुक्त मन्त्रीहरुको दावी

दशरथ घिमिरे

 

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा पाँच लाख भन्दा माथिका योजनालाई खुला बोलपत्रमार्फत प्रतिस्पर्धा गराएर कार्यान्वयन गर्ने निर्देशन जारी गरेपछि मातहतका निकायले त्यसअनुरुप तयारी थालेका छन् । वार्षिक क्यालेन्डर निर्माण गरेर योजना कार्यान्वयनलाई गति दिने मुख्यमन्त्री आचार्यको जोड छ ।

‘कार्यविधि साउन मसान्तभित्र बनिसक्ने छन् । भदौ महिनाभित्र योजनाहरुको स्टिमेट तयार पारिनेछ र असोज महिनामा योजनाहरुको टेन्डर खोलिनेछ’– मन्त्री आचार्यले भन्नुभयो– ‘सरकारले क्यालेन्डर बनाएको छ । त्यही अनुसार काम अघि बढ्ने छन् ।’

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलाई प्रदेश सरकारले व्यहोरेको घाटाबारे थाहा छ । उहाँले पदभार ग्रहणको समयमा प्रदेश सरकारको आन्तरिक आय बृद्धि गर्दै अघिल्लो पटकको दायित्व भुक्तानीको लागि प्रदेशको ढुकुटी बलियो बनाउने योजना सुनाउनुभयो । ‘अघिल्लो वर्षको दायित्व भुक्तानी गर्ने जिम्मेवारी पनि छ । निर्माण व्यवसायीले काम सम्पन्न गरेको तर सरकारले दिनुपर्ने रकम नदिएको अवस्था छ । अबको तीन महिनाभित्र यी समस्या समाधान गर्ने बारेमा योजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ’– उहाँले भन्नुभयो– ‘प्रदेश सरकार राजश्व अनुमानको दृष्टिकोणले पनि पछि छ । राजश्व संकलन बृद्धि गरेर सरकारको ढुकुटी बलियो बनाउने योजना हो ।’ सरकारले राजश्वको दायरामा ल्याउनुपर्ने निकायलाई ल्याउन नसकेको, कतिपय राजश्वको दर पनि बढी भएको विषयलाई सम्बोधन गर्नेगरी काम गर्ने प्रतिबद्धता मन्त्री कार्कीको छ ।

शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज) को खानेपानीका अधुरा आयोजना सम्पन्न गर्ने योजना छ । प्रदेश स्थापना भएदेखि शुरु भएका आयोजना अलपत्र छन् । ८० प्रतिशत काम सम्पन्न भइसकेका तर पानी सञ्चालन नभएका आयोजनालाई यस वर्ष सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता मन्त्री थापाले व्यक्त गर्नुभएको छ । साइत हेरेर जिम्मेवारी सम्हाल्नुभएका मन्त्री थापाले सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो । ‘यस वर्ष एक सय ६५ वटा योजना सम्पन्न हुने चरणमा रहेका छन् । यी खानेपानी योजनालाई सम्पन्न गर्न हामीले ध्यान दिनेछौं’– मन्त्री थापाले भन्नुभयो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रदेशलाई पर्यटनको हव बनाउने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री न्यौपानेले उद्योग, पर्यटन र यातायात महत्वपूर्ण क्षेत्र भएकाले यसको विकास र विस्तारका लागि ध्यान दिने बताउनु भयो । ‘लुम्बिनी पर्यटनको सम्भावना रहेको प्रदेश हो । स्वदेशी तथा विदेशी पर्यटकहरुको आवागमन बढाउन सरकारले वातावरण बनाउने छ’– उहाँले भन्नुभयो– ‘उद्योगी, व्यवसायीहरुको हौसला बढाउन, बन्द रहेका उद्योग तथा व्यवसाय सञ्चालनका लागि हामीले पहल लिनेछौं ।’ यातायात क्षेत्रमा बढेको विकृति रोक्न कठोर निर्णयहरु गर्नुपरे पनि पछि नहट्ने जिकिर मन्त्री न्यौपानेको छ ।

वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदभार सम्हाल्दै वन, वातावरणको क्षेत्रका योजना कार्यान्वयन गर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले यस अघिनै पदभार ग्रहण गर्दै जनतालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया