
तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ५ को विकट पहाडी गाउँका स्थानीय बासिन्दालाई गाउँमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले करङ्गेकोटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य इकाई स्थापना गरिएपछि स्थानीय बासिन्दाले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् ।
सामान्य टाउको दुख्दा पनि यहाँका बासिन्दाले घण्टौको पैदल बाटो हिडेर सिसहनियाँ स्वास्थ चौकी लगायत अन्य विभिन्न स्वास्थ्य संस्थाहरुमा पुग्नुपर्ने बाध्यता थियो ।स्वास्थ्य इकाई स्थापना भए पश्चात् सो बाध्यताबाट स्थानीय मुक्त भएका छन् । विकट पहाडी गाउँका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । ‘जनताको माग र आवश्यकताको आधारमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको हो’, उहाँले भन्नुभयो ।
संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारमा राखी कुनै पनि नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगराउने कानुनी व्यवस्था गरेको छ । त्यसैको आधारमा स्वास्थ्य सेवालाई दुर्गम गाउँहरूमा विस्तार गरिएको हो। गाउँमै स्वास्थ्य इकाई स्थापना भएपछि सहज भएको स्थानीय मनोज दर्लामी मगरले बताउनुभयो । ‘सामान्य उपचारका लागि समेत सिसहनियाँ जानुपर्दा पैसा र समय दुबै धेरै लाग्ने गरेको थियो । अब गाउँमै स्वास्थ्य इकाई स्थापना भएपछि सहज भएको छ।’ उहाँले भन्नुभयो। औषधि अभाव र स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या यहाँ हुनुभएन। लुम्बिनी प्रदेश सरकारको १० लाख र गाउँपालिकाको १ लाख रुपैयाँ गरि कुल ११ लाख रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरिएको हो।स्वास्थ्य इकाईमा गाउँपालिकाले औषधि, स्वास्थ्य उपकरण सहित स्वास्थ्यकर्मीको व्यवस्था गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य इकाईमा अहेब ,अनमी र कार्यालय सहयोगी गरि ३ जनाको दरबन्दी रहेको छ।
सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन
सामुदायिक स्वास्थ्य इकाई भवनको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, समाजसेवी चित्र बहादुर थापा मगर लगायतका वक्ताहरूले नागरिकको सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य भएको उल्लेख गर्दै उनीहरुलाई गाउँघरमै स्वास्थ्य सेवा पुर्याउनु राज्यको कर्तव्य भएको बताउनुभएको थियो ।

त्यस्तै उहाँहरुले मानवीय संसाधनको विकास बिना अन्य क्षेत्रको विकास सम्भाव नहुने बताउदै सरकारको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा हुनुपर्ने बताउनुभएको थियो। राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी, पालिकाका प्रवक्ता तथा वडा नं.२ वडा अध्यक्ष पहलवान चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, शिक्षा प्रमुख विश्वास विक, वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्यकर्मीहरु लगायत स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले गर्नुभएको थियो ।
विशेषज्ञ सेवा सहित निःशुल्क स्वास्थ्य शिविर
यसैबीच स्वास्थ्य इकाई उद्घाटन कार्यक्रमको अवसरमा गाउँपालिकाले विशेषज्ञ सेवा सहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा ३२ महिला र १० जना पुरुष गरि ४२ जनाको स्वास्थ्य चेकजाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो। सो अवसरमा ३२ जना बिरामीहरुको मधुमेह समेत जाँच गरिएको थियो । शिविरमा स्वास्थ्य चेकजाँच गराएका बिरामीहरुलाई निःशुल्क औंषधी वितरण सहित स्वास्थ्य परामर्श समेत दिइएको थियो ।

शिविरमा स्वास्थ्य सेवा लिन आएका मध्ये धेरै जसो मधुमेह र उच्च रक्तचापका बिरामीहरु रहेको एमडिजिपी डाक्टर उमाकान्त तिवारी जानकारी दिनुभयो । शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, जनस्वास्थ्य निरीक्षक पोषणराज शर्मा, अहेब शिव कुमार चौधरी, पुनम कुमाल, ल्याब असिस्टेन्ट रमेश चौधरी लगायतले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो ।


तपाईको प्रतिक्रिया