कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या गत आर्थिक वर्षको तुलना घटेको हो ।

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्नै श्रमस्वीकृति लिने विदेशीको संख्या ९ प्रतिशतले घटेको छ । गत वर्षको सो अवधिमा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या १ हजार ४१९ रहेकोमा चालू आवको फागुनसम्म १ हजार २९२ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
अघिल्ला २ आर्थिक वर्षमा भने रोजगारीमा लागि नेपाल आउने विदेशी बढेका थिए । आव २०७६(०७७ मा नयाँ श्रम स्वीकृति र सोको नविकरण गर्नेको संख्या २ हजार ५० रहेकोमा आर्थिक वर्ष २०७७-०७८ मा २ हजार ३९० रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । यसमध्ये पनि अघिल्लो आवमा १ हजार ९१ नयाँ आवेदकलाई श्रम स्वीकृति दिएको थियो भने ९५९ जना पुरानाको श्रमस्वीकृति नवीकरण गरिएको थियो ।
यस्तै, गत आवमा १ हजार ९० नयाँलाई श्रमस्वीकृति दिएकोमा १ हजार ३०० गैरनेपालीको श्रम स्वीकृति नवीकरण गरिएको थियो । यसरी नै श्रम स्वीकृति नवीकरण गर्नेको संख्यासमेत अघिल्लो आवको तुलनामा १३ प्रतिशत अर्थात ९५९ बाट बढेर १ हजार ३०० पुगेको थियो ।
विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा कोभिडको असर देखिएपछि श्रम स्वीकृति लिने विदेशीको संख्यासमेत घटेको बताउनुभयो । यो वर्ष श्रम स्वीकृति नवीकरण गराउने विदेशी श्रमिकको संख्या गत वर्ष भन्दा बढिरहेको छ । गत वर्ष नयाँ श्रम स्वीकृति ५७५ र नविकरण ८४४ विदेशीले गरेकोमा यो वर्षको ८ महिना नयाँ ६८६ र नविकरण ६०६ रहेको छ ।
कोभिड चीनबाट सुरु भएको र नेपाल सञ्चालनमा रहेका परियोजनामा चिनियाँ नागरिक धेरै कार्यरत रहेका कारण पनि नेपालमा काम गर्न अनुमति लिने विदेशीको संख्या घटेको विभागको भनाइ छ । नयाँ भन्दा पनि ५ देखि ७ वर्षसम्म सञ्चालन हुने परियोजनामा काम गर्ने प्राविधिकले श्रम स्वीकृति नविकरण गराउने गरेका छन् ।
यस अघि सुनकोसी मरिन डाइर्भसनमा ५०० चिनियाँ प्राविधिक ल्याउन सरकारले अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठन, सेभ द चिल्ड्रेनलगायतका विकास साझेदारहरुले पनि थोरै संख्यामा विज्ञका लागि श्रम स्वीकृति लिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ छन् ।
२०७३ पुसयता चिनियाँ नागरिक ५ हजार ४७४, बेलायत ३८६, अमेरिका २३४, भारत १८३, कोरिया १६२ र अन्य १० हजार ५९६ विदेशीले नेपाल रोजगारी गर्न श्रम स्वीकृति लिएका छन् ।
श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशी रहेका छन् । निर्देशक गोपले कोभिड संकटका बेला नयाँ श्रम स्वीकृति लिने विदेशीको संख्या केही कमी आए पनि नविकरण गर्नेको संख्या बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया