दशरथ घिमिरे

देउखुरी । लुम्बिनी प्रदेशमा तीन राजनीतिक दलले ७ वटा विषयगत समितिको भागबण्डा गरेका छन्।
डेढ वर्षदेखि समितिको सभापति चयन हुन सकेको थिएन। तर, दलहरूले गृहकार्य गरेर सहमतिमा विषयगत समितिको भागबण्डामा टुंगो लगाएका हुन्। जसमा नेकपा एमाले तीन, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुई-दुई गरेर सात वटा विषयगत समितिको सभापतिको भागबण्डा टुंगो लगाएका छन्।
विषयगत समितिको सभापति चयनका लागि भोलि बुधबार निर्वाचनको मिति तोकिएको छ। जसअन्तर्रगत आज उम्मेदवारी दर्ताको कार्यतालिका छ। बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति र विशेष अधिकार समितीको सभापती चयन हुन लागेको हो।
कांग्रेसले सार्वजनिक लेखा समिति र कृषि वन तथा वातावरण समिति, नेकपा एमालेले अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति र विशेष अधिकार समितिको नेतृत्व पाउने छ भने माओवादीले प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास समितिको नेतृत्व पाउने जनाइएको छ।
कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतीमा माया पुन र कृषि वन तथा वातावरण समितिको सभापतिमा विश्वप्रेम पाठकलाई बनाउन थालेको छ। एमालेले अर्थ उद्योग तथा पर्यन समितिको सभापतिमा रामजिप्रसाद घिमिरे, भौतिक पूर्वाधार विकास समितिको सभापति राजुप्रसाद श्रेष्ठ र विशेष अधिकार समितिको सभापतिमा गिरीधारीलाल न्यौपानेलाई बनाउने तयारी गरेको छ। माओवादीले प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा डिलकुमारी बुढा र सामाजिक विकास समितिको सभापतीमा यमबहादुर नेपाली सार्कीलाई बनाउने तयारी गरेको छ।
सहमती अनुसार आज मनोनयन दर्ता गरिँदै छ। गत ३० असारको प्रदेशसभा बैठकले समितिमा रहने सदस्यहरूको टुंगो लगाए पनि समितिको सभापतिको टुंगो भने अहिलेसम्म लाग्न सकेको थिएन।
निर्वाचनको तालिका सार्वजनिक भए पनि विषयगत समितिको नेतृत्व भने सहमतिमै टुंगिएको कांग्रेसकी सचेतक नीमा गिरीले बताइन्। ‘संसदीय समितिको नेतृत्व सहमतिमा टुंगिएको हो। जसअनुसार आज मनोनयन दर्ता गरिँदैछ’ गिरीले भनिन्,’विषयगत समितिबाट सरकारको निगरानीको काम प्रभावकारी रूपमा अघि बढ्ने छ।’
विषयगत समितिको नेतृत्व चयन नहुँदा समितिहरूको नियमित बैठकसमेत बस्न नसकेको अवस्था थियो। ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर केही समितिले छलफलसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया