दशरथ घिमिरे

देउखुरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले सुशासनयुक्त समाज निर्माण गर्न भ्रष्टाचार निवारण सबैको साझा मुद्दा बन्नुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले आइतबार रोल्पाको लिवाङमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार निवारणको विषय अख्तियारको मात्रै एकल विषय नरहेको भन्दै सार्वजनिक पद धारण गरेको व्यक्तिदेखि कार्यसम्पादनमा जोडिने निकायहरु नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । भ्रष्टाचार निवारण अख्तियारले मात्रै गरोस् भन्ने चाहना एकातिर देखिन्छ भने अर्कोतिर अख्तियारले नहेरोस्, थाहा नपाओस् भन्नेसम्मका गुनासो सुनिन्छ तर भ्रष्टाचार निवारणको विषयमा कार्यकारी जिम्मेवारीमा रहेकाहरुले नै राम्रोसँग काम गरिदिने हो भने धेरै हदसम्म समस्या समाधान हुने थिए उहाँले भन्नुभयो– ‘अख्तियारमा उजुरी पर्दैमा डराउनुपर्दैन । गलत र साँच्चिकै भ्रष्टाचार भएका घटनाहरुको अनुसन्धानहरु प्रभावकारीरुपमा मात्र कानुनी प्रक्रियामा जाने गरेका छौं ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुःख दिने नियतले धेरै उजुरी पर्ने गरेको भन्दै रोल्पा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सहभागी कार्यक्रममा सहभागीहरुले उजुरी पुष्टि नभएको हकमा उजुरीकर्तालाई कारबाहीको दायरासम्म ल्याउन माग गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्यले अख्तियारमा पर्ने उजुरीहरुको बारेमा ध्यान दिन आग्रह गर्नुभयो । उहॉँले जनप्रतिनिधि र कर्मचारीलाई दुःख दिने नियतले उजुरी पर्ने गरेको भन्दै अनुसन्धानको क्रममा पुष्टि नभएका उजुरीकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्नुभयो । जनताले राम्रो काम भएको बताइरहेका छन् तर त्यहीं राम्रो भनिएको आयोजनाको बिषय अख्तियारमा पुगेका छन् उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिलाई दुःख दिने नियतले परेका उजुरीका बारेमा आयोग गम्भीर बन्न जरुरी छ ।’
तर आयुक्त चन्दले बेनामे उजुरीलाई बन्द गर्न नसकिने बताउनुभयो । नाम लेखेर उजुरी दिने हो भने अख्तियारको कार्यालयमा ताला लगाइदिए हुन्छ उहाँले भन्नुभयो– उजुरी पर्दैमा अभियोग पुष्टि हुने होइन । रोल्पा जिल्लाका १० वटा स्थानीय तहमा चालू आर्थिक बर्ष २०८०÷०८१ को चैत २७ गतेसम्म ५५ वटा उजुरी परेको, २७ वटा उजुरी फछ्यौट भएको र २८ वटा फछ्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार उजुरी परेका विषयहरुको फरक फरक प्रवृत्ति रहेका छन् । अबण्डा बजेट राखेर जथाभावी खर्च गरिएको, खरिद योजना नबनाउने, गलत स्टिमेट तयार पार्ने, बजेट टुक्र्याएर खरिद गर्ने, उपभोक्ता समितिलाई काम लगाउदा कार्यविधि र मापदण्ड नबनाउने, बनेका कार्यविधिको पालना नगर्ने, सरोकार नदेखिने व्यक्तिलाई उपभोक्ता समितिमा राख्ने, नाम मात्रको श्रमदान उल्लेख गर्ने, कार्यालयको अभिलेख सुरक्षित र व्यवस्थित नराख्ने, दरबन्दी बिना कर्मचारी नियुक्त गर्ने प्रवृत्ति देखिएको छ ।
यस्तै तालिम तथा क्षमता विकास कार्यक्रममा वास्तविक सहभागी भन्दाबढी उपस्थित देखाइ बजेट अपचलन गर्ने, सहभागीको किर्ते हस्ताक्षर गर्ने, सेवा प्रवाहमा बिचौलियाको प्रभाव बढिरहेका जस्ता प्रवृत्ति उजुरी पर्ने गरेका छन् । रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापाले अख्तियारमा उजुरी परेपछि त्यसको प्रत्यक्ष असर विकास निर्माणमा पर्ने गरेको बताउनुभयो । अख्तियार लाग्यो भने कामै अघि बढ्दैन । कर्मचारीले जाँगर लगाउँदैनन् उहाँले भन्नुभयो– जिल्लामा धेरै योजना अलपत्र छन् । उजुरी परेपछि त्यसको छिनोफानो छिटो होस् । कि सफाइ होस्, नभए कारबाही होस् । बिचमा झुलाइरहने नहोस् । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले सार्वजनिक पद धारण गरेको व्यक्तिले पदको दुरुपयोग गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । अख्तियार दुरुपयोग अुसन्धान आयोगका उपसचिव रमेशकुमार केसीले अख्तियारमा उजुरी पर्दा बित्तिकै विकास निर्माणको काम रोक्न नहुने बताउनुभयो । अख्तियारले उजुरी मात्रैको आधारमा काम रोक्न भन्दैन उहाँले भन्नुभयो– बदमासी नगरेको भए डराउनुपर्दैन ।

तपाईको प्रतिक्रिया