लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक

दशरथ घिमिरे

 

देउखुरी ।लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ। प्रदेश योजना आयोगले मंगलबार राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/८६ सम्मको लागि तयार पारेको आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले संयुक्त रुपमा आधारपत्र सार्वजनिक गरे। दोस्रो आवधिक योजनामार्फत गरिब, विपन्न नागरिकको जीवनस्तर सुधार गर्न हरेक घरमा पुग्ने कोसिस गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए।

उनले लामो गृहकार्य र मेहनतका साथ तयार भइरहेको आवधिक योजनाको पूर्ण कार्यान्वयन जरुरी रहेकोमा जोड दिए। ‘प्रदेशलाई समृद्ध बनाउन यो योजनाले मार्गदर्शन दिनेछ। एउटा बाटो देखाउने छ,’ उनले भने, ‘गरिबी न्यूनीकरण सँगसँगै प्रदेशलाई समृद्ध बनाउन भूमिका खेल्छ भन्ने लागेको छ।’

संघीयतामा राजनीतिले स्थायीत्व पाउन नसक्दा बनेका योजना कार्यान्वयनमा जटिलता थपिएको भनाइ उनको छ। लुम्बिनी प्रदेशको समृद्धिका लागि दोस्रो आवधिक योजना तर्जुमा गर्न आधारपत्रले मार्गदर्शन गर्ने प्रदेश योजना आयोगका उपाध्यक्ष डा।नहकुल केसीले बताए।

‘हामीले आवधिक योजनालाई अन्तिम रुप दिन निरन्तर काम गरिरहेका छौँ,’ उनले भने, ‘आधारपत्रमा नतिजाका खाका र विषयत मन्त्रालय तथा सम्बन्धित कार्यालयहरुबाट तयार गरिएको रणनैतिक कार्यक्रमलाई समावेशगरी दोस्रो आवधिक योजनालाई अन्तिम रुप दिनेछौँ।’

आधारपत्रमा ११ वटा परिच्छेदहरु, ६१ वटा खण्ड र १६ वटा उपखण्डहरुसहित २४९ पेजको दस्तावेज तयार गरिएको छ। मुख्यगरी पहिलो आवधिक योजनाको समीक्षा, समष्टिगत आर्थिक खाका, सार्वजनिक खर्चको स्रोत र लगानी प्रक्षेपण, दोस्रो आवधिक योजनाको क्षेत्रगत वस्तुस्थिति, विषय क्षेत्रगत सोच, लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति, प्रमुख कार्यक्रमहरु र परिणात्मक लक्ष्यहरुलाई समावेश गरिएको छ।

दोस्रो आवधिक योजनामा पाँच वर्षमा हाँसिल गर्ने गरी १८ वटा परिमाणत्मक लक्ष्य निर्धारण गरिएको छ। आवधिक योजनालाई नतीजामूखी बनाउन २४८ वटा रणनीति, एक हजार एक सय ४५ वटा कार्यनीतिहरु तय गरिएको छ।

मुख्यगरी कुल ग्राहस्थ उत्पादन वृद्धिदर ७ दशमलव २ प्रतिशत, निरपेक्ष गरिबी १८ दशमलव २० प्रतिशत, प्रतिव्यक्ति आय एक हजार पाँच सय १२ अमेरिकी डलर, मानव विकास सूचकांक शून्य दशमलव ६१० र बाल मृत्युदर २२ प्रतिहजार पुर्‍याउने महत्वकांक्षी लक्ष्य निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया