२२ गते विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री चौधरी

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री चौधरीले चैत २२ गते बिहीबार संसदबाट विश्वासको मत लिने नर्णय भएको हो।

 

मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए। ‘पर्सि (बिहीबार) ४ दिउँसो बजे सदन बोलाउने कुरा छ। त्यही बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीज्यूको योजना छ, ‘ गृहमन्त्री पाण्डेले भने, ‘क्याबिनेट बैठकले विशेष अधिवेसन आह्वान गर्नको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।’

गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए। त्यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनको कार्यकालले सय दिन पनि पूरा गर्न पाएन।

राजनीतिक समीकरण फेरिएपछि कांग्रेस-माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो। फेरि केन्द्रीय राजनीतिमा आएको बदलाबका कारण एमाले-माओवादीसहितको सरकार बन्ने अवस्था देखिएको छ।

गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए। चौधरीलाई ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो। वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तपाईको प्रतिक्रिया