घोराहीको बुद्व अस्पतालमा प्रहरी र प्रदर्शनकारीबीच झडप, घटनाको अनुसन्धान गर्न समिति गठन

दाङ – घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोसित मृतकका आफन्तले बिरोध गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घटनालाई नियन्त्रणमा ल्याउन लाठी चार्जसँगै अश्रुग्यास प्रहार गरेको थियो।

 

झडपका क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन्। झडपका क्रममा एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर लगेको पीडित पक्षले बताएका छन्।

घाँटीको उपचार गर्न घोराहीमा रहेको बुद्व अस्पतालमा ल्याएका राजपुर गाउँपालिका–१ पटौली नाका निवासी ९ बर्षीय बालक सुरेश कवरको मृत्यु भएपछि पीडित पक्षले अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै घट्नाको सत्यतथ्य छानविन र दोषीलाई कारवाहीको माग गर्दै विहीवारदेखि आन्दोलन गर्दै आएका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा ल्याउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

घटनाको छानबिन गर्न समिति गठन

यसैबीच घट्नाको छानविन गर्न सात सदस्यीय छानविन समिति गठन भएको छ। विहीवार बसेको सर्वपक्षिय बैठकले ५ दिनभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय छानविन समिति गठन गरिएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिको संयोजकत्वमा गठिन छानविन समितिमा चिकित्सकका प्रतिनिधि ३ जना, पीडित पक्षका दुई जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।

सहमतिपछि आन्दोलन स्थगित गर्ने र मृतक बालकको पोष्टमार्टम गर्ने सहमति भए पनि प्रदर्शनकारी र प्रहरीविच झडप भएपछि पोष्टमार्टम हुन सकेको छैन।

तपाईको प्रतिक्रिया