दाङ- ‘स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा’ भन्ने मूल नारासहित विश्व मृगौला दिवस दाङमा सचेतना र्यालीसहित मनाइएको छ। रोटरी क्लब अफ लमही र सामुदायिक डायलाइसिस सेन्टर, लमहीको संयुक्त आयोजनामा मृगौला दिवस मनाइएको हो।

सामुदायिक डायलाइसिस सेन्टरबाट सुरु भएको र्यालीले लमहीका विभिन्न स्थानको परिक्रमा गरेर लमही चोकमा पुगेर कोणसभामा परिणत भयो। पञ्चेबाजासहित र्यालीमा सहभागी विद्यार्थीले बोकेका प्ले कार्डमा मृगौला सुरक्षासम्बन्धि सचेतनामूलक सन्देश लेखिएकाे छ।
हरेक वर्ष मृगौलाका बिरामी थपिने क्रम बढ्दो छ। अस्वस्थकर खाना र अस्तव्यस्त जीवनशैलीका कारण मृगौलाका बिरामी थपिने क्रम बढेको डा.अब्दुस सवुत खानले बताए।‘सबै मान्छेलाई थाहा छैन मृगौला किन बिग्रिन्छ भनेर। अझै सचेतनाको अभाव देख्छु। अहिले सुगर, प्रेसरका बिरामी बढिरहनु भएको छ। उहाँहरूलाई थाहा छैन यसबाट मृगौला बिग्रन्छ भनेर,’ उनले भने।
मृगौलामा लाग्ने रोग पत्ता लगाउन वर्षको कम्तीमा दुई पटक अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने उनकाे भनाइ छ। ‘धेरै केस आधा मृगौला बिग्रेपछि मात्रै थाहा हुन्छ। तर, समयमै हामी उपचारमा आयौं भने डायलाइसिसमा जानु नपर्नेगरी मृगौला सुरक्षा गर्न सकिन्छ। मृगौलाको डायलाइसिस उपचार होइन। केही समय जीवन बचाउनको लागि गरिने एउटा उपाय हो। मृगौला बिरामीलाई नयाँ जीवन दिन मृगौला फेर्नुपर्छ। तर, यो धेरै कठिन छ, ’ डा. खानले भने।
एउटा स्वस्थ व्यक्तिले आफ्नो घर परिवारका सदस्य कसैको मृगौला बिग्रिएको खण्डमा एउटा मृगौला दिएर जीवन बचाउन सकिने भनाइ उनको छ। खानपानमा ध्यान दिए मृगाैलासम्बन्धि राेगबाट बच्न सकिने उनले बताए। मृगाैलासम्बन्धि जनचेतना बढाउन बेलाबेला विभिन्न किसिमका कार्यक्रमहरू गर्नुपर्नेमा उनले जाेड दिए।
लमहीमा डायलाइसिस सेन्टर २०७६ सालमा स्थापना गरिएको थियो। जसले गर्दा मृगौला फेल भएका बिरामीले निःशुल्क डायलाइसिस सेवा लिन पाएका छन्।
बुटवल, नेपालगञ्जलगायत टाढाका अस्पतालमा जानुपर्ने बाध्यता टरेको रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरेले बताए। उनले डायलाईसिस सेवा प्रभावकारी रूपमा चलिरहेको र यसलाई सबै निकायबाट साथ सहयोगको आवश्यकता रहेको औंल्याए। हाल ८५ जना बिरामीले डायलाइसिस गराउदै आएका छन्।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मृगौलालाई सबैले माया गर्नुपर्ने बताइन्। ‘हाम्रो जीवनशैली कस्तो छ? हाम्रो स्वास्थ्य पनि त्यस्तै हुन्छ,’ उनले भनिन्, ‘स्वस्थ जीवनशैली नै स्वस्थ स्वास्थ्यको आधार हो।’

तपाईको प्रतिक्रिया