दशरथ घिमिरे

दाङ- लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेसन अन्त्य गरेको छ। तीन दिनमात्रै चलेको तेस्रो अधिवेसन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको हो।
राजनीतिक समीकरण फेरिएसँगै सकार ढलाउने र बनाउने खेल सुरु भएपछि प्रदेश तहमा पनि त्यसको प्रभाव परेको छ। प्रदेशसभाको आगामी बैठक यही चैत ४ गतेलाई बोलाइएको थियो।
सदनलाई बिजनेस दिन नसक्दा सरकारले अधिवेसन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले बताए।
‘तत्काल सदनमा कुनै विषय भएनन् र बिजनेस पनि नभएकोले स्थगित गरिएको हो। बदलिँदो समीकरणले विश्वासको मत नि लिनुपर्ने हुनसक्छ। त्यो समयमा पुनः आह्वान हुन्छ,’ उनले भने, ‘आवश्यकता पर्याे भने फेरि अधिवेसन आह्वान हुन्छ।’
प्रदेशसभा सचिव दुर्लभ पुनले सदन स्थगित भएको विषयमा औपचारिक पत्र आइनपुगेको बताए।
प्रमुख प्रतिपक्ष दल एमालेले भने प्रदेशसभालाई छल्नको लागि अधिवेसन नै अन्त्य गर्न पुग्नु दुर्भाग्य भएको टिप्पणी गरेको छ। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्रीले प्रदेशसभालाई छल्नका लागि सभालाई हठात स्थगित गरेको दावी गरे।
‘सदन तीन दिन सदन चल्यो, मुख्यमन्त्रीलाई केही चासो भएन, जवाफदेही हुने कुरै भएन। सदनसँग छलेर कहिलेसम्म भाग्ने?,’ उनले भने, ‘एमाले यस्तो गलत कदमको सधैं विरोधमा हुनेछ।’
प्रदेश प्रमुखको कार्यालय नयाँ पत्रको पर्खाइमा छ। फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउनेगरी प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको छ।
‘हिजो राति पत्र आएछ, बिहान मात्रै थाहा भयो। आजकै मिति राखेर पत्र पठाउन भनिएको छ,’ प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो, ‘नयाँ पत्र आएपछि आज रातिबाटै अधिवेसन अन्त्य भएको निर्णय कार्यान्वयन हुन्छ।’

तपाईको प्रतिक्रिया