दाङको राप्ती गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीको वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३/११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको हो ।
पालिकामा विद्युतको लो भोल्टेज ,ओभरलोड र विद्युत कटौतीको समस्या समाधान सँगै पालिकालाई क्षमता सहित पूर्ण रुपमा विद्युतीकरण गर्ने उद्देश्यले उक्त सब–स्टेसन निर्माण गर्न लागिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो।
एकता नगरमा निर्माण हुने विद्युत् सब–स्टेसनको मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नु भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले अब राप्तीमा विद्युतको सबै समस्याहरु सधैँका लागि अन्त्य हुने बताउनुभयो।
उहाँले पालिकाका कतिपय वडाका पहाडी गाउँका नागरिकहरु अझै पनि अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको बताउदै सब–स्टेसनको काम सम्पन्न भए सँगै त्यो बाध्यताको अन्त्य हुने बताउनुभयो।
१५ महिना भित्र काम सम्पन्न गर्ने गरी एस टी ए एल एम ई जेभी कम्पनीलाई ५० करोड रुपैयाँमा ठेक्का दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमहीका प्रमुख युवराज रावतले देउखुरी क्षेत्रमा विद्युतको समस्या समाधान गर्ने प्रयास भइरहेको बताउदै सब– स्टेसन निमार्णले विद्युतको धेरै समस्या समाधान हुने बताउनुभयो ।
सब–स्टेसन शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष पहलवान चौधरी,वडा नं ४ का वडा अध्यक्ष बिर बहादुर चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, निर्माण व्यावसायि, सरोकारवाला लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया