काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान बेलुकासम्म भेटिएको छैन । विमान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकोमा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म भेटिएको छैन । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि आजका लागि खोजी कार्य स्थगित गरिएको छ ।
तारा एयरका अनुसार पनि विमान मुस्ताङको न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि हुनसक्ने आशंका गरिएको छ । ‘तिनै क्षेत्रमा वरिपरि खोजी कार्य गर्न नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्दार टोली परिचालन गरिएको थियो’ तारा एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘खोजीका लागि नेपाली सेनाको एमआई १७ र फिस्टेल एयरको हेलिकोप्टर पनि प्रयोग गरिएको थियो ।’
बेलुका भएपछि सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ ।

तपाईको प्रतिक्रिया