शैक्षणिक प्रविधिः प्रयोग र लाभ

पूजा खड्का
म कुनै शिक्षाविद वा शैक्षिक शैक्षणिक प्रविधिमा विज्ञता हासिल गरेको व्यक्ति होइन तर विगत १२ वर्षदेखि शिक्षण पेशामा आवद्ध भएका कारण आफुले अनुभव गरेका भोगाईहरुलाई समेटेर केही प्रकाश पार्ने जमर्को गर्दैछु ।
बी.सी. म्याथिसका अनुसार, विद्यालयको ढाँचा, कार्य सन्चालन र परीक्षाका लागि विकास गरिने सिलसिलावद्ध तरिका र व्यवहारिक ज्ञान शैक्षिक प्रविधि हो । शिक्षण कार्यसँग सम्बन्धित विज्ञानलाई शिक्षक कलाका रुपमा प्रयोग गरिने विधि वा प्रविधिहरु शैक्षणिक विधि अन्तरगत पर्दछन् । यस्तो प्रविधिले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन उपयोग गरिने आधुनिक र वैज्ञानिक ज्ञानको व्यवस्थित प्रयोगलाई शैक्षणिक प्रविधि भनिन्छ ।
म आवद्ध गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही दाङमा प्रि प्राईमरी लेबलमा C.P.S.( complete Preschool System) र प्राईमरी लेबलमा C.P.R.S. (complete Preprimary School System) प्रविधिमा अध्ययन अध्यापन गराईन्छ । विद्यालयको कक्षाकोठा कसरी व्यवस्थित गर्ने, कक्ष कोठामा शैक्षणिक गतिविधिहरु कसरी वालमा सजाउने, अडियो भिजुअल माध्यमबाट कसरी सिकाउने, हरेक विषयगत लेसनलाई समेट्ने गरी कथाका माध्यमले विद्यार्थी भाइबहिनीहरुलाई कसरी सकारात्मक उर्जा दिई सिकाई क्रियाकलापमा अब्बल बनाउने, विषयगत शैक्षणिक गतिविधी र चाडपर्वहरुको परियोजना कार्य गरि गराई अवगत गराउने, देशमा घटेका नयाँ घटना र मुख्य समाचारका बारेमा अवगत गराउने गरिन्छ ।
सबै विद्यार्थी एकै किसिमका हुँदैनन् त्यसैले म आवद्ध विद्यालयले अवलम्बन गरेको CPS र CPRS प्रविधि एकदमै लाभदायक प्रमाणित हुँदै गईरहेको छ । विद्यार्थीहरुले कक्षाकोठामा विभिन्न सिकाईका माध्यमबाट शिक्षा आर्जन गर्ने मौका पाईरहेका छन् । कसैले कथाका माध्यमले बुझेका छन् त कसैले गीत संगीतका माध्यमले, त्यसैले परियोजना कार्य, खेल माध्यम श्रव्यदृश्य माध्यमले बुझेका छन् ।
यस प्रविधिको प्रयोग धेरै नै लाभदायी र फलदायी रहेको छ । बाल मस्तिष्कले सजिलै समाउने गरी शिक्षक शिक्षिकामैत्री विद्यालयभन्दा विद्यार्थीमैत्री विद्यालय आजको आवश्यकता हो । शैक्षणिक प्रविधिका उद्देश्य शिक्षण सिकाईलाई सहजीकरण र सरलीकरण गर्न, अध्ययन कार्यमा विद्यार्थीको रुचीअभिवृद्धि गर्न,शिक्षण र सिकाईबीचको असल सम्बन्ध कायम गर्न, विद्यार्थीको ज्ञानको दायरा फराकिलो गर्न आदि हो ।
शिक्षण सिकाईमा शैक्षणिक प्रविधिका फाईदाहरु धेरै हुने गर्दछ । शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदछ । विद्यार्थीहरु नयाँ प्रविधिसँग परिचित हुन सक्छन् । शिक्षणलाई विद्यार्थी केन्द्रित गर्न सकिन्छ । खुला सिकाई वातावरणको सिर्जना गर्नसकिन्छ । सिकाईलाई मनोरञ्जनपूर्ण (Joyful) र बालमैत्री बनाउन सकिन्छ ।
अध्यापन गर्न खोजिएको विषयबस्तुको धारणा स्पष्ट बनाउन मद्दत गर्छ । विद्यार्थीमा विषयबस्तुको सिकाई दिगो बनाउँछ । शिक्षण सिकाईका शैक्षणिक गतिविधिहरु खाली बालबालिकाले marksheet पाउने माध्यमका रुपमा मात्र नलिई आफ्नो गाउँटोल, समाज र देश हाँक्न सक्ने व्यवहारिक, दक्ष र कुशल विद्यार्थी उत्पादन गर्न सके मात्र गाउँटोल, समाज र देशलाई सकारात्मक प्रभाव पार्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया