मेरो भाषा, मेरो पहिचान

सतिस पौडेल

 

मेरो जन्म शंकर प्रसाद पौडेल र ईश्वरा पौडेलको दोस्रो सन्तानको रूपमा भएको हो । मभन्दा अगाडि मेरो दाइ जन्मनु भएको थियो, तर दाइ २१ दिनको हुँदा जण्डिसको कारणले स्वर्गवासी हुनु भएछ । हाम्रो परिवार ठूलो थियो । बाबा ३ भाइ र ५ दिदीबहिनीमध्येका जेठा हुनुहुन्थ्यो । मपछि हाम्रो घरमा अरू मेरो दाइभाइ-दिदीबहिनी नभएको कुरा पछि मात्र थाहा पाएँ ।

म जन्मिएको गाउँ साविक सोनपुर गा.वि.स हालको लमही–२ बनकट्टी (मामा घरमा) भए पनि करिब साढे तीन वर्ष म साविक बेलागा.वि.स हालको राजपुर–२ प्रतापुरमा हुर्किएँ । सानो परिवार, सुखी परिवार बनाउने उद्देश्यले वुवा-आमाले मपछि कुनै सन्तान जन्माउनु भएन । म जन्मिएको करिब साढे तीन वर्षपछि पारिवारिक सहमतिमै वुवा र अंकलहरू अलग हुनु भयो ।

मलाई बेला (प्रतापुर) मा हुर्किएको कुनै पल अहिले याद छैन, सायद सानै उमेरमा बसाइँसराइको कारणले हुन सक्छ । बेला प्रतापुरबाट बसाइँसराइ पछि हाम्रो बसाइँ साविक चैलाही–५ लंगडी हाल लमही–६ पुष्पनगर (लंगडी) मा हुन थाल्यो ।

गाउँ एकदमै सुनसान थियो । अहिले जस्तो बाटोघाटोको कुनै सुविधा थिएन । कुला, नाला तथा खेतको आली नै गोरेटो बाटोको रूपमा प्रयोग गरिन्थ्यो । दाङ जिल्लाको बासिन्दाको रूपमा त्यस ठाउँमा हाम्रो पाँचौं नम्बरको घरको रूपमा प्रवेश भएको रहेछ । हामीभन्दा पहिले दामोदर अधिकारी, हेमराज शर्मा, काशिराम डाँगी तथा बीर बहादुर के.सी. ज्यूहरूको घर रहेको मैले पछि मात्र थाहा पाएँ ।

हामी त्यस गाउँमा आउँदा दामोदर अधिकारी, हेमराज शर्मा, काशिराम डाँगी ज्यूहरू विस्तारै अन्यत्र बसाइँ सर्नु भएछ । अब दाङ जिल्लाको बासिन्दाका रूपमा बीर बहादुर के.सी. र हाम्रो घर मात्र रह्यो । गाउँ सुनसान थियो, तर शान्त । बिहान चराहरूको चिरबिरले निद्रा खुल्थ्यो, साँझसम्म खेतबारीका काममा जुट्थ्यौँ । हाम्रो भाषा, हाम्रा कथा, हाम्रा गीत–सबै आफ्नै थिए ।

त्यसबेला वुवाले छिमेकी घरको परिवारलाई दाइ-भाउजु भनेर सम्बोधन गर्न थाल्नुभयो । मैले सानैदेखि ठुलो बुवा, ठुली आमा भनेर सम्बोधन गर्न थालेँ । ठुलो बुवा-ठुली आमाको घरमा अजय र आशा दुई छोरा-छोरी हुनुहुन्थ्यो । उमेरले मभन्दा दुबै जना ८\१० वर्ष जेठो हुनुहुन्थ्यो । त्यसैले अब मेरो दाइ र दिदी पनि उहाँहरू नै हुनुभयो । उहाँहरू सँगै खेल्ने, उहाँहरू सँगै पढ्न जाने, उहाँहरू सँगै झगडा गर्ने मेरो दैनिकी हुन थाल्यो । दाइ-दिदीहरूले मलाई साह्रै माया गर्नु हुन्थ्यो । कहिलेकाहीँ बढी चकचक गर्दा दुई-चार थप्पड नखाएको पनि होइन । हाम्रो परिवार यसैमा खुसी थियो, तर समय बदलिँदै गयो ।

गाउँमा एकपछि अर्को घर थपिन थाल्यो । प्युठानबाट केही घरहरू आए, रोल्पाबाट केही आए । गाउँको स्वरूप मात्र होइन, बोलीचाली पनि फेरिन थाल्यो । म सानो थिएँ, सबैसँग घुलमिल हुन खोज्थेँ । हाम्रो घरको छिमेकी प्युठानबाट साहु कान्छा अर्थात छबिलाल पौडेल ज्यूको परिवार आउनु भयो । ठुलो बुवाको छिमेकी साहु जेठा अर्थात श्यामलाल पौडेल । यसरी गाउँ ठूलो हुँदै गयो । दाङ जिल्लाको जिल्लाबासी अब हामी दुई घर मात्र हुन थाल्यौँ । हाम्रो शुद्ध दङ्गाली भाषा शब्दहरू मिसिदै गयो ।

अब विस्तारै मेरा शब्दहरू मुछिन थाले । कहिलेकाहीँ प्युठानी शब्द मिसिन्थे, कहिलेकाहीँ रोल्पाली । कतै-कतै आफ्नै भाषा विस्तारै हराउँदै गएको जस्तो लाग्थ्यो । घरमा आमा-बुवासँग बोल्दा दङ्गाली बोले पनि बोलिमा दङ्गाली शब्दहरू हराउँदै जान लागेको भान हुन थाल्यो । समाज मिसियो, भाषा पनि मिसियो ।

एक पटक म मामा घर गएको बेला, खानाखाइसके भन्नु पर्ने ठाउँमा मैले ‘खाना भ्याइयो’ भनेछु । हजुरआमाले ‘के को भ्याइयो भन्छ, यसले ?’ भन्नु भयो । धेरै पटक यस्ता स–साना शब्दहरूले मलाई सोचमग्न बनायो । आखिर मेरो भाषा के हो भनेर । मलाई सधैं सोच्न बाध्य पार्ने शब्दहरूः अमिलो कि चुकिलो, मोलो कि गुलियो, हान्दिछु कि हिर्काउँछु, भ्याइयो कि सकियो आदि ।

एउटा साँझ वुवा मलाई हेरिरहनु भएको थियो । मैले सोधेँ, ‘वुवा, हाम्रो भाषा के हो ?’ वुवाले हल्का मुस्कान दिनुभयो, तर आँखामा भावुकता झल्किन्थ्यो । ‘हाम्रो भाषा हाम्रो गाउँ हो बाबु । हाम्रो भाषा नेपाली हो ।’ मात्र भन्नु भयो ।

त्यस रात, म धेरै बेर सोचिरहेँ । सायद म एउटै भाषा बोल्दिनँ होला, तर म सबै भाषा बुझ्छु । जसरी गाउँ बदलियो, मेरो भाषाका शब्दहरू पनि बदलियो । सायद मेरो भाषा नै मेरो गाउँको कथा हो– मिश्रित तर आत्मीय ।

लेखक लमही–५, दाङ निवासी हुन् ।

तपाईको प्रतिक्रिया