को हुन् लुम्बिनीमा एमालेबाट मुख्यमन्त्री बन्न थालेका लीला गिरी?

दशरथ घिमिरे

 

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुँदैछन्। नयाँ राजनीतिक समीकरणका आधारमा नेकपा माओवादी केन्द्रलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्यूराे सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाउन थालेका हुन्।

यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालीन नेतृत्वको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २(क) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेशसभामा विजयी भए। अघिल्लो निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट विजयी भएका थिए।

गिरीको जन्म २०११ साल चैत १४ गते रुरु गाउँपालिका- ५ गुल्मीमा भएको थियो। बिएसम्म अध्ययन गरेका गिरीको विशेष दख्खल कृषिमा विविधीकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा छ। उनी राजकीय जिम्मेवारीमा लुम्बिनी प्रदेशसभा सदस्य, प्रदेश सरकारमा मन्त्री बने। उनले उद्योग वन, पर्यटन, वातावरणमन्त्रीको नेतृत्व गरे भने केही समय आन्तरिक मामिला तथा कानुनमन्त्री, स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी निभाएका थिए।

उनको राजनीतिक जीवन पञ्चायतका विरुद्ध आवाज उठाउँदै अघि बढ्यो। २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चहरूको विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरूसँगै आन्दोलनमा सहभागी भएका थिए।

गिरीले शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यववस्थाको पहिलो जननिर्वाचित अध्यक्ष भएर काम गरेका थिए। सहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दलमा सहभागी भए।

सोह्र-छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरे।

शाही कूका विरुद्ध लाग्दा गिरीले जेलयातना समेत भोगे। २०६१ माघ २७ देखि ०६२ वैशाख २८ गतेसम्म जिल्ला कारागारमा जेल यातना भोगेका हुन्।

गिरीले २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, वि.सं.०५८-०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१-०६६ र ०६६-०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष भएर काम गरे।

वि.सं.२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९-०७० सम्म अञ्चल कमिटी सदस्य र नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए। नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज छन्।

तपाईको प्रतिक्रिया