
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चटारोले दलहरुलाई छोएको छ । पाँच दलिय गठबन्धनबाट क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा मेटमणी चौधरी हुनुहुन्छ । नेकपा एकिकृत समाजवादीबाट उम्मेदवार बनेका मेटमणी चौधरीले फेरी चुनाव जिते विकासे योजनाहरु सम्पन्न गर्ने बताउदै आउनु भएको छ । निर्वाचनको सन्दर्भमा ‘हाम्रो लुम्बिनी न्युज’ को टिमले उम्मेदवार चौधरी सँग गरेको कुराकानीको सारसंक्षेप (सम्पादक) ।
निर्वाचनको तयारी कसरी अघि बढीरहेको छ ?
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ । घरदैलोमा पुग्ने, मतदाताहरु संग भेट गर्ने काम चलिरहेको छ । निर्वाचनको परिणाम हाम्रो पक्षमा पार्नेगरी प्रचारप्रसार चलिरहेको छ ।
चुनावी माहोल कस्तो छ ?
हामी गठबन्धन दल भित्र छौं । गठबन्धनका उम्मेदवारहरुको पक्षमा माहोल छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सबैको राम्रो माहोल छ । त्यसैले हामी चुनाव जित्दैछौं । यो निर्वाचन हाम्रो लागी र नेपाली जनताको लागी निकै महत्वपूर्ण निर्वाचन हो । किन भने संविधान मास्न खोज्ने प्रवृत्तिका विरुद्ध हामी उभिएका छौं । संविधानको रक्षा गर्न खोज्ने दलहरु एक ठाउँमा छौं भने संविधानको विरोधमा रहेका दलहरु अर्काे ठाउँमा छन् । त्यसैले यो निर्वाचनबाट संसद विघटन गर्न खोज्नेहरु सकिनेछन् ।
तपाई त पाँच बर्ष प्रतिनिधि सभा सदस्य भइसकेको व्यक्ति, फेरी दोहोरिदै हुनुहुन्छ ? यो निर्वाचनको के एजेण्डा छन् ?
पाँच बर्ष अघि म निर्वाचनमा होमिदा जे प्रतिबद्धता गरेको थिए । त्यो पुरा गरेको छु । खरको छानो फालेर टिन लगाउने कार्यक्रम ल्याउछु भने संसदमा बोले । आवाज उठाए । कार्यक्रम बन्यो । त्यो कार्यक्रम देशभर लागु भयो । व्यक्तिगत रुपमा केही घरहरु छुटेका होलान । तर, धेरै घरहरुका छानो फेरिएको छ । ८ हजार घरमा टिनको छानो लाग्दैछ । त्यसपछी यो समस्या समाधान हुन्छ । सुरुमा एउटा घरको लागी ५० हजार बजेट थियो । त्यसले नपुग्ने भएपछी फेरी बजेट थपेर ७५ हजार पु¥यायौं । अव सबै घरमा टिनको छानो लाग्छ । यो निर्वाचनको लागी पनि हामीले ऐजेण्डाहरु लिएर मतदाताको माझ जाँदैछौं ।
यसपाली मुख्यगरी राप्ती नदी तटबन्धको लागी करिडोरको योजना मेरो सपना छ । त्यो कुरा पुरा गर्न हाल म सहरी विकास मन्त्री छु । मेरो मन्त्रालयले काम गरिरहेको छ । एडिवि संग सहकार्य गरेर पूर्वमा भालुबाङ्ग देखी पश्चिममा अमिलिया सम्मको क्षेत्रमा तटबन्ध हुन्छ । तटबन्ध गर्न जती बजेट चाहिन्छ त्यसको व्यवस्थापन गर्न लागी पर्ने छौं । १० अर्व बजेट एडिवि संग सम्झौताको तयारी छ । बाढी र डुबानबाट हुने यो समस्यालाई सधैंको लागी समाधान गर्ने योजना छ ।
अर्काे कुरा भूमिहिन सुकुम्वासीलाई जग्गाको मालिक बनाउने कुरा पनि छ । गुठी, मन्दिर र स्कुलको जग्गामा बासोवास गरेकाहरुलाई पनि जग्गा उपलब्ध गराउने कुरामा म दृढ छु । जे बोल्छु त्यो काम गर्छु । अहिले बजेट विनाको शिलान्यास भयो भनेर केहीले बोलेको सुन्छु । मैले शिलान्यास गरेका योजनाहरुमा बजेट छ । ठेक्का लागेर पनि काम हुदैछन् । मेरो क्षेत्रको मुहार फेर्नेगरी योजना बनाएको छु ।
श्रीनारायण चोक देखी स्वर्गद्धारी सम्म पुग्ने सडक बनाउछु । पाँच बर्ष भित्र त्यो सडक कालोपत्रे हुन्छ । बनगाउँ चोक देखी स्वर्गद्धारी सम्म पुग्ने केवलकार बनाउने योजना छ । बनगाउँमा स्वर्गद्धारीको आश्रम छ । यो आश्रम देखी सिधैं स्वर्गद्धारीको कनेक्सन गर्न केवलकारको अवधारणा ल्याएको हुँ । यो कामको लागी बजेट विनियोजन भइसकेको छ । मुसोट खोला देखी बबई सम्म सुरुङ्ग मार्ग बनाउने योजना छ । जती पनि अहिले आवागमनको समस्या छ । त्यो समस्या समाधान गर्न सुरुङ्ग मार्ग उत्तम विकल्प हो । यसमा पनि हामी काम गर्छौं ।
घोराहीलाई बेस मानेर घोराही तुलसीपुर, घोराही लमही, भालुबाङ्ग, रिहार सम्म पोटवय चलाउछौं । संसारमा दुई ठाउँमा मात्रै यसको अभ्यास छ । त्यो नयाँ अभ्यास दाङमा भित्र्याउने छौं । काठमाण्डौंमा यो आयोजना कार्यान्वयनको लागी बजेट छुट्टीसकेको छ । अव दाङको लागी बजेट छुट्याउने तयारी छ । हामीले साझा प्रतिबद्धता पनि तयार पारेका छौं । प्रदेश राजधानीको विस्तार, राप्ती करिडोरको निर्माण, मसोट देखि ववईसम्म सुरुङ्ग मार्ग विस्तारको सम्भाव्यताको अध्ययन गरी विस्तार गर्ने, शिक्षा, खेलकुद र स्वास्थ्यमा सुधार, वड्का पथ र प्रगन्ना सिंचाइ सञ्जाल विस्तार गरि दिगो सिंचाइको अवधारणा स्वरुप उक्त नहरका सेवा क्षेत्र भित्र पर्ने भूमिहरु पूर्ण रुपमा सिंचाइ योग्य बनाइने हाम्रो साझा कार्यक्रम छ ।
फोहरलाई मोहरमा वदल्ने कार्यक्रम कार्यान्वयनमा ल्याई रोजगारीको सिर्जना तथा फोहोरको उचित व्यवस्थापनका लागि नयाँ प्रविधि (प्लान्ट) जडानको गर्ने योजना छ । कृषि, पशु र वन, आन्तरिक तथा वाह्य पर्यटन विस्तार, उत्तर दक्षिण सडक सञ्जालको विस्तार, मितव्ययी सूचना तथा सञ्चार कार्यक्रम ल्याउने योजना छ ।
अव्यवस्थित बसोबासी र सुकुम्वासी समस्याको हल गर्नका निमित्त भूमि सम्बन्धी ऐनको निर्माण भई लगत लिने कार्य समेत जारी भएकाले सम्पूर्ण भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीलाई छिटो भन्दा छिटो लालपुर्जा प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गरिन गर्ने हाम्रो कार्यक्रम हुने छ । यो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत पूर्वाधार विकासमा काम गर्ने छौं । मानिसहरुको आवश्यकता पुरा गर्ने योजना छ । स्वदेशमै रोजगारीको अवसरहरु सृजना गर्न चाहेका छौं । विकास एकै ठाउँमा थुप्रिने भन्दा पनि सबै ठाउँमा समान विकासको अवधारणा अवलम्बन गरेका छौं । नाका क्षेत्र सहित विकट वस्तीमा पूर्वाधार विकासमा लगानी लगाउने छौं । पाँच बर्षे कार्यकालमा सुरु गरेका तर, पुरा हुन नसकेका योजनाहरुलाई पनि अवको कार्यकालमा सम्पन्न गर्ने योजना पनि छ ।
सबै राजनीतिक दलको योजनाहरु सुन्दा आहा भन्ने हुन्छ तर, योजना प्रतिबद्धता अनुसार काम नगर्ने प्रवृत्ति छ नी ?
हामी काम गर्छौं । जती भनेका कुराहरु छन् ति नीतिगत रुपमा व्यवथा गरेर काम गरिएको छ । अव फेरी निर्वाचित भएपछी हामीले भनेका सबै काम गर्छौं । जनताको आँखामा छारो हाल्नको लागी मात्रै यि कुराहरु भनिएका होइनन् । काम गर्नको लागी ल्याएका प्रतिबद्धता हुन । तपाई ढुक्क हुनुस, जे भनिएको छ त्यो काम गर्छौं ।
चुनाव जित्ने आधार के हो ?
पाँच दलिय गठबन्धन छ । यही हो चुनाव जित्ने आधार । अर्काे कुरा मतदाताको विश्वास हो । म भारी मतले चुनाव जित्दैछु । जनताका मायाँले नै फेरी मलाई प्रतिनिधि सभामा पठाउने छ । जती बोले यो क्षेत्रको विकासको लागी बोलेकोछु । मेरो राजनीतिक जीवन म नमरेसम्म चल्ने छ । कहिल्यै थाक्ने छैन् । निरन्तर सेवामा खट्ने छु । चुनाव जित्ने आधार भनेकै मतदाता हुनुहुन्छ । उहाँहरुको अमुल्य मतनै मेरो जीतको आधार हो ।
अन्तमा, केही भन्नै कुरा छुटेकी ?
हामी निर्वानमा होमिएका छौं । मतदातालाई यही अन्तरबावार्ता मार्फत मतदातामा सहभागी हुन अपिल गर्दछु । हामी जे बोल्छौं गरेर देखाउछौं । त्यसैले विश्वस्त भएर निर्वानमा सहभागी हुन आह्वान गर्दछु ।

तपाईको प्रतिक्रिया