झल्को तिम्रै

 

 

सन् २०१८ को बिचबिच तिर हो मेरो श्रीमती सोनु मृगौलाको समस्याले थलिदै गएकी थिइन् । उनको प्रत्यारोपण छिटो गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिए । तर मृगौलादाता आफन्त कोही भेटिनु भएन । मेरो रगत समुह मिल्दैन्थ्यो । प्रत्यारोपण गर्न नसकेको पिर मनमा थियो त्यही माथी सरकारले दिने भनेकै निःशुल्क डायलोसिसको सेवा पनि हामीले पाउन सकीरहेको थिएनौ ।

यही बेला पुर्वप्रधानमन्त्रीलाई मृगौलामा समस्या भएपछि बिदेश लगियो । पछि उहाँको दोस्रो पटक नेपालमै प्रत्यारोपण भयो । मिडियामा प्रत्यारोपण एक सामान्य प्रक्रिया भइसकेको र नेपालमा एकदमै सहज खालमा समाचार आए । डायलोसिस पाउन पनि सँघर्ष गरिरहेका हामीलाई ती समाचारले निकै पोल्यो । अनि सोनुले एउटा लेख कान्तिपुरमा प्रकासित गरिन । त्यही लेख पछि सोनुको प्रत्यारोपणको लागि भनेर केही साथीहरुले आर्थिक सँकलन अभियान पनि चलाउनु भयो । त्यही बेला फन्ड राइजिँगको लागि एउटा गीत निकाल्नेकी भन्ने सोचिरहेको थिए । सरोज केसी जी र म त्यो बेला एउटै अफिसमा काम गर्थियौ । उहाँले गीत राम्रो लेख्नुहुन्छ भन्ने कुरा थाहा पाए पछि उहाँलाई गीत लेखि दिन आग्रह गरे । उहाँले हुन्छ पनि भन्नु भयो । तर त्यो गीत लेखिन निकै समय लाग्यो ।

२०७८ कार्तिक २२ मा सोनुले सँसार छोडिन् । मलाई समवेदना दिन सरोज जीले फोन गर्दा गुरु त्यो गीत समयमा लेख्न नसकेकामा निकै पछुतो भएको छ भन्नु भयो । फेरी पनि गीत लेख्ने सल्लाह भयो । सोनु बितेको ३/४ महिना पछि मलार्इ एकजना सिलाइ पसलबाट सोनुले अर्डर गरेको कपडा तयार भइसकेको भएपनि लग्न पाउनु भएको थिएन । म पसल बेच्दै छु तपाई यो लुगा लैजानुस भनेर खबर आयो ।

त्यो लुगा घरमा ल्याएको दिन एकदमै रुन मन लाग्यो । फेसबुकमा त्यो लुगालाई स्याड रिएक्सन सहित स्टोरी पोस्ट गरेको थिए । सरोज जीले पनि के हो भनेर सोध्नु भयो । मैले सबैकुरा बताए पछि झल्को तिम्रै लेख्ने माहौल बन्यो । यो गीतले मेरा भावनाहरु मात्र बोकेको छैन । यो गीत आफ्ना प्रियजन गुमाएका सबैलाइ आफ्नै झै लाग्ने खालको छन् । गीत तयार भए पछि संगीतको लागि हामीले धेरै जनालार्इ पहल गर्यौ । आशिष अविरल जीलाई शब्द सुनायौ । उहाँलाई पहिलो पटकमै गीतले छोयो । आशिष जीले पनि बाबा आमा गुमाउनु भएकोले शव्द आफ्नै लागि लेखेझै महसुस भयो । सँगीत तयार भए पछि प्रविण भेडवाल जीको स्वरमा यो गीत राम्रो सुनिने निष्कर्ष निकाल्यौ र उहाँले आवाज भरे पछि गीतको अडियो तयार भयो ।

गीतको भिडियोको लागि पनि हामीले धेरै जना निर्देशकहरु सँग कुरा गरेका थियौ । लक्ष्मण जीले रेलकै बाटो आउदैछ केही दिन अघि मात्र सार्वजनिक भएको थियो । अनि लक्ष्मण जीसँग कुरा भयो उहाँले पनि गीतको शब्द र यो गीतको पछाडीको कथा सुनेपछि सँगै काम गर्ने निष्कर्षमा पुग्यौ ।

यती भएपछि हामीर्ला सबैभन्दा चुनौति महिला पात्रको खोजि थियो । हामी कथाको महिला पात्रमा सोनुको झल्को खोजीरहेको थियौ । यसको साथै म नन एक्टर भएकोले पनि एक्टरहरुले मेरो अपोजिट काम गर्ने कुरालाई सहजै स्वीकार नगर्ने समस्या पनि थियो । लक्ष्मण जीले सुरबिना जीको फोटो पठाउनु भयो । केही लुकमा उहाँ ठ्याक्कै सोनुकै झल्को आउने देखिनु भयो । अनि सुरविना जी सँग कुरा शुरुभयो । उहाँले निकै सहजरुपमा हाम्रो प्रस्ताव स्वीकार गरिदिनु भयो । साथै सोनुको क्यारेक्टरमा उत्रिनको लागि सोनुको फेसबुक प्रोफाइल टिकटकहरुको अध्ययनका साथै हाउभावको लागि कुराकानी समेत गरेर सोनु जस्तै देखिन धेरै मिहेनत पनि गरिदिनु भयो । हाम्रो रियल स्टोरीमा आधारित कथा भएकोले सुटिँग पनि हामीले महेन्द्रनगर र धनगढीमै गर्ने सल्लाह गरि ५ दिन लगाएर सुटिँग समप्नन गरि अहिले भिडियो तपाईहरुको अगाडी छ । यसलाई जिवन्त बनाउनमा यसमा सिनेमाटोग्राफर निशाल पौडेलको पनि उत्तिकै महत्वपुर्ण भुमिका छ ।

यो भिडियोमा हामीले माया प्रेम र बियोग मात्र नभइ, स्वास्थ्य समब्नधी सन्देशहरुलाइ पनि समेटेको छौ । गर्भवस्थामा हुने इक्लामसिया बिमारी र यसले पुर्याउने असरलार्इ भिडियोमा सटिकरुपमा देखाइएको छ । यसको साथै मृगौला बिमारीहरुले भोग्नु परेका समस्या र अँगदानमा महिलाहरुलाई प्राथमिकतामा नराख्ने हाम्रो सामाजिक अभ्यासलार्इ पनि हामीले प्रहार गरेको छौ । नेपालमा अंगप्रत्यारोपणको तथ्याँक हेर्दा महिलाहरु अँगदाताको रुपमा बढी संख्यामा भएपनि अँग पाउने महिलाको संख्या तुलनात्मकरुपमा निकै कम छ । यो एक किसिमको लैगिँक बिभेद पनि हो । यसलाई हटाउनु पर्छ भनेर अंगदानलाई प्रोत्साहन गर्ने सन्देश यस गीतमा छ ।
यो गीत मेरो मात्र नभइ पछिल्ला दुइ वर्षमा कोराना महामारी र स्वास्थ उपचारको अभावमा ज्यान गुमाएकाहरु र आफ्ना प्रियजन गुमाउनेहरुको प्रति यो गीत समर्पित छ ।

यो कुनै काल्पनिक कथा होइन । आफ्नो श्रीमती सोनु सिनालको मृगौला फेलभई मृत्यु प्रश्चात तयार पारिएको झल्को तिम्रै गीत सार्वजनिक गर्दै धिरेन्द्र सिनालले व्यक्त गरेका शब्दहरु हुन् ।

झल्को तिम्रै गीत यही साउन २४ गतेको रिलिज भएको छ । यो एउटा बियोगान्त प्रेम कथामा आधारित गीत हो । यो गीतको शब्दहरुले यो संसार छोडेर गएका आफ्ना प्रियजनहरुको झल्कोलाई बोकेको छ ।

https://youtu.be/lfd6ujoMBKo

तपाईको प्रतिक्रिया