
पोस्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्त चयन भएका छन् ।
प्रतिष्ठानको शनिवार सम्पन्न सातौँ वार्षिक साधारण सभाले पुनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्ष चयन भएका नेता पुन माओवादीभित्र बोगटीका अनुयायीका रूपमा चिनिन्छन् ।
प्रतिष्ठानको उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा दाङ निवासी पार्टी पोलिट्ब्युरो सदस्य निर्मल आचार्य चयन भएका प्रतिष्ठानले जनाएको छ ।
नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय थिए ।
२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए।
प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया