दाङको सिस्नेखोला किनारको नाङ्गो पाखामा वृक्षारोपण

 

 

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गामा आइतबार वृक्षारोपण गरिएको छ । वर्षौदेखि पराम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामा आइतवार उपभोक्ताहरुले वृक्षारोपण गरेका हुन् ।

स्थानीय बसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको नदी किनारमा रहेको जग्गामा दुइ सय बढि उपभोक्ताहरुले बिरुवा लगाएका हुन । उक्त बृक्षरोणको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले पाँच सय ४५ मिटर काटेतारबार समेत गरिदिएको छ ।

करिव २० हेक्टर खाली वन क्षेत्रमा असना, हर्रो, बर्रो, अमला, सुगन्धकोकिला, बडहर प्रजातिका तीन हजार दुई सय बिरुवा लगाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

वर्षौँदेखि खेरा गइरहेको र भूक्षयको जोखिम समेत रहेको क्षेत्रमा संरक्षणमुखी बिरुवा रोपण गरी नमुना योग्य बन बनाउने योजनाका साथ कार्यक्रम थालिएको कार्यालयले जनाएको छ ।

बसन्तापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन योगीको सभापतित्व एंव डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मुनाल घिमिरेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया