
देउखुरी । राप्ती गाउँपालिका दाङको आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती २ लालमटियाको समुह प्रथम भएको छ।
लैंगिक हिंसा विरुद्धको विषयमा आयोजित प्रतियोगितामा गोरखा आइडल स्कूल लालमटियाको समूह द्वितीय, सिरिन भ्याली पब्लिक स्कुल मौरीघाटको समूह तृतीय र महिला मगर संघ राप्ती १ भालुबाङको समुह सान्त्वना भएका छन्।
गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित प्रतियोगितामा ९ वटा महिला समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिता राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य सुशीला चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।
सो अवसरमा बोल्दै संविधान सभा सदस्य सुशीला चौधरीले तीज पर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताउनुभयो । पछिल्लो समयमा तीज पर्वलाई भड्किलो तरिकाले मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्दै संविधान सभा सदस्य चौधरीले आफ्नो मौलिक सांस्कृतिलाई बचाउनु पर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले माइती र चेलीको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनु भयो । पछिल्लो समय तीज पर्वमा विकृति बढ्दै गएको बताउदै अध्यक्ष विष्टले तीज पर्व हुने खानेको मात्रै नभई हुदा खानेको लागि पनि हुनु पर्ने बताउनुभयो । अरुको देखासिकी नगरी आफू सँग जे छ त्यसैमा रमाउनु पर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।
कार्यक्रममा गाउँ पालिकाका प्रवक्ता तथा २ नं. वडा अध्यक्ष पहलवान चौधरी, ३ नं. वडा अध्यक्ष उमेश अधिकारी, पूर्व न्याय परिषदका सदस्य पदम वैदिक ,पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विक, पूर्व उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, माध्यमिक विद्यालय मौरीघाटकी प्रधानाध्यापक सीता रिजाल लगायत अन्य जनप्रतिनिधि, महिला समूहका सदस्य, कर्मचारी, संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
गाउँ कार्यपालिकाकी सदस्य पार्वती सुवेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसी र विमला भट्टराईले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया