योजना माग्न मन्त्रालय धाउन पर्दैन, प्रक्रिया मार्फत आएका योजनामा मात्रै बजेट: मुख्यमन्त्री आचार्य

 

 

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताउनु भएको छ । योजना छनोट प्रक्रिया मार्फत अघि बढेका योजनालाइ सरकारले कार्यान्वयन गर्ने भएकाले योजनाहरुको प्राथमिकता निर्धारण गर्न र बिषयगत कार्यालय मार्फत अघि बढ्न निर्देशन दिनु भएको हो ।

नेकपा एमाले बाँके जिल्ला कमिटिको आयोजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले बजेट रकमान्तरण नगर्ने भन्दै छुटेका योजनाहरुलाइ अर्को बर्ष सम्बोधन गरिने बताउनु भयो । ‘योजना माग्नको लागि मन्त्रालय धाउन पर्दैन । तल्लो निकायबाट हुने योजना छनोटको प्रक्रियालाई फलो गरेर अघि बढेका योजना समावेश गरिन्छ’ उहाँले भन्नुभयो ‘पहुँचको आधारमा हुने योजना छनोटको विधिलाई निरुत्साहित गर्न खोजेका छौं । आवश्यकताका आधारमा प्रक्रियागत रुपमा अघि बढेका योजनालाई छान्छौं ।’

लुम्बिनी प्रदेश सरकारले बनाउने आवधिक योजना र योजना बैंकमा समावेश योजनाहरुलाइ बार्षिक योजनको रुपमा छान्ने प्रक्रियाको थालनि गर्ने भनाइ उहाँको छ । ‘पहुँचको भरमा योजना छान्ने तर, कार्यान्वयन गर्न खोज्दा नहुने, ठाउँ फेला नपर्ने, विवाद हुने, स्वार्थ बाझिने जस्ता समस्याहरु सुनिन्छन’ उहाँले भन्नुभयो ‘अब सरकारले आवधिक योजना र योजना बैंकमा रहेका योजनालाइ बार्षिक योजनाको रुपमा अघि बढाउछ ।’

समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्वको बारेमा प्रशिक्षण दिनु भएका मुख्यमन्त्री आचार्यले सरकार गठन भएदेखि अहिलेसम्मका उपलब्धिको चर्चा समेत गर्नु भएको छ । सरकारले गरेका राम्रा काम र अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न पार्टी पंक्तिलाई निर्देशन समेत दिनु भएको छ । चुनाव अघि र पछिको समयमा जनप्रतिनिधि, पार्टी विचको सम्बन्धको बारेमा चर्चा गर्नु भएको छ ।

लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको स्पष्ट पार्नु भएको छ । पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहितको दायरा भित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने बिषय सुशासन संग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको बताउनु भयो । प्रदेश सरकार गठन भएको छोटो अवधनीमानै उपलब्धीहरु देखिएको तर, यसको प्रचार प्रसार हुन नसक्दा नागरिकहरुमा निरासा बढेको जस्तो देखिएको टिप्पणी गर्नु भयो ।

योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउदै उहाँले महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया