लुम्बिनी प्रदेश सरकारको निर्णयः पूर्व बिशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा–सुविधा फिर्ता

दाङ–लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्टि व्यक्तिलाई दिँदै आएकाे सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थिले जानकारी दिएका छन्।

 

मिति २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय भएको थियो। यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिदै आएका थिए।

आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागी पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय गरिएको हो। यो अन्तरगत पूर्व बिशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा लिदै आएका थिए।

यस्तै प्रदेश सरकारले आफ्ना मन्त्रिहरुलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको छ। बैठकले कर्मचारी संगठन ओएनएम पास गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले घरेलु कार्यालय र पर्यटन कार्यालयलाई एकआपसमा गाभ्ने निर्णय गरेको हो।

घरेलु तथा साना उद्योग कार्यालयलाई पर्यटन कार्यालय संग गाभेर घरेलु तथा पर्यटन बनाइएको हो। यस अघि पर्यटन कार्यालय दुई स्थानमा मात्रै थियो। नेपालगञ्ज र भैरहवामा रहेका कार्यालयबाट सेवा प्रवाह गर्न र सेवा लिन गाह्रो भएको थियो। पर्यटन कार्यालयको सेवा लिन सहज बनाउने उद्देश्यले निर्णय गरिएको हो।

तपाईको प्रतिक्रिया