दशरथ घिमिरे

देउखुरी । नेकपा (माओवादी केन्द्र)की लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेकी छन्।
माओवादीले मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत नदिन ह्वीप जारी गरे पनि उनी मत विभाजनमा सहभागी नै भइनन्।
माओवादीले बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थिति भएर विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। उनी बाँके क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित एक मात्र महिला सांसद हुन्।
विशेष कारणले बैठकबाट बाहिर निस्किँदा मतदान छुटेको उनले बताइन्। ‘मेरो आन्तरिक समस्याले गर्दा बाहिर निस्किएको बेलामा मत विभाजन भएछ,’ केसीले भनिन्, ‘पार्टीको नीतिविपरीत होइन। मतदान चाहिँ छुटेको हो। फेरि उनीहरु (सत्तापक्ष) को मत पुगिहालेको थियो।’
बैठकमा हाजिर गरेर मतदानमा सहभागी नभएपछि तटस्थ अवस्था भन्ने बुझिन्छ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारूले मतदानमा सहभागी नभएपछि उनलाई स्पष्टीकरण सोध्ने बताए।
‘थाहा नभएर हो कि संसदको महत्व नबुझेर हो मलाई थाहा भएन,’ थारुले भने, ‘सदनमा सहभागी भएर पार्टी निर्देशन उल्लंघन गर्नेलाई पार्टीले स्पष्टीकरण सोधेर थप काम कारबाही अघि बढाउला।’

तपाईको प्रतिक्रिया