दशरथ घिमिरे

देउखुरी । प्रदेशसभा सदस्यको मुख्य जिम्मेवारी कानुन बनाउने हो । प्रदेशसभाका बैठकमा नियमित उपस्थित हुने र आफ्नो भूमिका बढाउनुपर्ने उनीहरुको दायित्व हो । तर जनताबाट चुनिएका प्रदेशसभा सदस्य बैठकमा धेरै गयल हुने गरेका छन् ।
लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनदेखि चौथो अधिवेशनको २३ औं बैठकसम्म सबै भन्दा बढी गयल हुनेमा जनमत पार्टीकी गीता गुरुङ हुनुहुन्छ । जम्मा ६१ वटा बैठकमध्ये गुरुङ जम्मा २७ वटा बैठकमा मात्रै उपस्थित हुनु भएको प्रदेशसभा सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
बैठकमा नियमित उपस्थित नभए पनि सांसदले पाउने सेवासुविधा भने सबै बुझ्ने गरेका छन् । बिरामी भएकाले बैठकमा नियमित उपस्थित हुन नसकेको गुरुङको भनाइ छ । प्रदेशसभामा कम उपस्थित हुने सांसदमध्ये अर्का कांग्रेसका देवकरणप्रसाद कलवार हुनुहुन्छ । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (२) बाट निर्वाचित उहाँ जम्मा ३१ बैठकमा मात्र सहभागी हुनु भएको छ । तर उहाँले पनि तलब भत्ता र सुविधा पूरै लिनु भएको छ । कलवारले पनि स्वास्थ्यकै कारण आफू बैठकमा जान नसकेको बताउनुहुन्छ ।
प्रदेशमा बैठकमा कम उपस्थित हुने तेस्रो सांसदको सूचीमा कांग्रेसकै अनुराग खड्का हुनुहुन्छ । दाङ १ (२) बाट निर्वाचित खड्का ३२ वटा बैठकमा मात्रै उपस्थित हुनु भएको छ । २९ वटा बैठकमा गयल हुनुहुन्छ । पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा अनुराग लुम्बिनीका सबैभन्दा कान्छा सांसद हुनुहुन्छ । आफू पारिवारिक कामले विदेश गएको हुँदा बैठकमा उपस्थित हुन नसकेको उहाँको भनाइ छ ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का सांसद आदेशकुमार अग्रवाल पनि बैठकमा कम सहभागी हुनेमध्येमा पर्नुहुन्छ । पार्टी विभाजनपछि अशोककुमार राई नेतृत्वको जसपामा लाग्नु भएका उहाँ ३२ वटा बैठकमा मात्र उपस्थित हुनुहुन्छ । बाँके क्षेत्र नं.२ (२) बाट निर्वाचित उहाँको संसदभन्दा बाहिरी काममा बढी ध्यान छ । मधुसूदन कुर्मी पनि बैठकमा कम सहभागी हुनु भएको छ । उहाँ ३३ बैठकमा मात्र सहभागी भएको देखिन्छ । कांग्रेसकै बसिउद्दिन खान ३४ वटा बैठकमा उपस्थित हुनुहुन्छ । कांग्रेस सांसद एवं शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) पनि ३६ वटा बैठकमा मात्र उपस्थित हुनुभएको छ ।
प्रदेश सांसद धनबहादुर केसी पनि ३७ वटा बैठक, रूपन्देहीका कांग्रेस सांसद अब्दुल रज्जाकले ३८ वटा बैठकमा मात्र हाजिरी गर्नुभएको छ । एमाले कपिलवस्तुका गिरिधारीलाल न्यौपाने ३८ वटा बैठकमा मात्र सहभागी हुनुभएको छ ।
सांसदको ध्यान कता ?
निर्वाचनको समयमा आस्थाको आधारमा राजनीतिक दलका तर्फबाट टिकट पाई निर्वाचित भए पनि निर्वाचित भइसकेपछि जनप्रतिनिधिका रुपमा सबै जनताको साझा प्रतिनिधि हुन्छन् । उनीहरूको महत्वपूर्ण जिम्मेवारी भनेको विधिको शासन स्थापनाका लागि नीति निर्माण गर्नु हो । संसद् भनेकै नीति निर्माण गर्ने थलो हो । प्रदेशसभाले दोस्रो कार्याकालमा एउटा मात्र कानुन बनाएको छ । सांसदको भत्ताका लागि मात्रै प्रदेशसभाले ३२ लाख खर्चिएको छ ।
नियमित दशवटा बैठकमा उपस्थित नहुने सांसदको पद जान सक्ने प्रदेशसभाको नियमावलीमा छ । प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुन मगरले सांसदहरू नियमितजसो बैठकमा उपस्थित नभएको पाइए सम्बन्धित दलका प्रमुख सचेतकहरूलाई जानकारी गराउँदै आएको बताउनुभयो । विशेष काम र विदेश जानुपर्ने अवस्था आए संसद् सचिवालयमा निवेदन दिएपछि सभामुखले स्वीकृत गरेर मात्र जान सक्ने व्यवस्था समेत रहेको छ । नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सांसदले कुनै विशेष कामबाहेक संसद् बैठक छाड्न नहुने बताउनुहुन्छ ।
‘हामीले संसद्को गरिमा र आफ्नो भूमिका प्रभावकारी बनाउन माननीयज्यूहरूलाई प्रशिक्षण समेत दिदै आएका छौं’– चौधरीले भन्नुभयो– ‘मिनी संसद् मानिने संसदीय समितिमा भएका पार्टीका सांसदहरूको उपस्थिति र त्यहाँ हुने बहस तथा छलफलमा भूमिका प्रभावकारी बनाउन भन्दै आएका छौं ।’
६१ बैठक, को कति उपस्थित ?
प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर सबै बैठकमा उपस्थित हुनु भएको छ । सांसद यामबहादुर नेपाली सार्की र स्वतन्त्र सांसद खड्ग बस्नेत पनि शतप्रतिशत बैठकमा सहभागी हुनुभएको छ । त्यस्तै, उपसभामुख मेनुका खाँण ६० वटा बैठकमा सहभागी हुनु भएको छ । बैजनाथ कलवार ३८, अब्दुल रज्जाक ३७, अम्बिका काफ्ले ५७, अर्जुनकुमार केसी ५७, आशीषकुमार चौधरी ३९, इन्द्रकुमारी गहतराज ५८, इन्द्रजीत थारु ४९, कन्हैया बानियाँ ४१, कृष्णा कुस्मा थारू ५४, खेमबहादुर सारू ५९, चन्द्रकेश गुप्ता ५०, चिन्तामणि पाण्डे ५४, चेतनारायण आचार्य ५०, जन्मजय तिमिल्सेना ५३, जमुना ढकाल ५८, जानकी न्यौपाने ५३, जानकीप्रसाद यादव ३८, जोखबहादुर महरा ५३, डिल्लीबहादुर चौधरी ४५, डिल्लीराज भुसाल ५७, तारा थापा ५६ र तुलसीप्रसाद चौधरी ६० वटा बैठकमा उपस्थित हुनुभएको छ ।
त्यस्तै, तुलसीराम शर्मा ४९, दिनेश पन्थी ५८, दीपेन्द्रकुमार पुन मगर ४८, दिलकुमार बुढा ५६, दुर्गाप्रसाद चौधरी ५३, देवीप्रसाद चौधरी ५४, धनबहादुर मास्की ५७, धनलक्ष्मी श्रेष्ठ ५३, धनेन्द्र कार्की ४१, धर्मबहादुर चौधरी ५३, नरमाया ढकाल ४४, नवराज लामिछाने ५८, निमा गिरी ५१, निर्मला देवी थारु ५४, प्रचण्डविक्रम न्यौपाने ५०, वसन्ती न्यौपाने ५३, बादशाह कुर्मी ४९, बैजनाथ कलवार ३८, भगवती अधिकारी ६०, भगवतीकुमारी थरुनी ५०, भण्डारीलाल अहिर ५५, भुवनेश्वर चौधरी ५९, भूमिश्वर ढकाल ४१, भोजप्रसाद श्रेष्ठ ५७, माया पुन ४७, मालती सोडारी ५३, मीनाकुमारी बोहोरा ५१, मीनाकुमार श्रेष्ठ ५४ वटा बैठकमा सहभागी हुनु भएको छ ।
त्यस्तै, मीनाकुमारी बुढा मगर ५९, यमुना रोका ५३, रत्न खत्री ५६, राजकुमार चौधरी ५०, राजु खनाल ५०, राजुप्रसाद श्रेष्ठ ५७, रामजीप्रसाद घिमिरे ५१, रेखाकुमारी शर्मा ५०, लीला गिरी ४१, लोकीकुमारी विक ५७, वीरबहादुर राना ४८, विश्वप्रेम पाठक ५७, विष्णु पन्थी ४७, शान्ति लोध ६०, सुशीला बादी ५६, सञ्जुकुमारी चौधरी ४८, सन्तोष पाण्डेय ४५, सरिता पुन ४५, सायरा बानो ४०, सीता शर्मा ६०, सुधाकरण पाण्डे ४३, सुमन शर्मा रायमाझी ४१, सुरुल पुन ५३ र हेमा बेलवासे ५६ वटा बैठकमा सहभागी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया