
तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका चेम्बर अफ कर्मशको मातहातमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना एवम् राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो।
रक्तदान कार्यक्रममा २० जना रक्तदाताहरुबाट २० युनिट रगत संकलन भएको छ।
युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले सबैभन्दा उत्कृष्ट दान भनेकै रक्तदान भएको बताउदै समाजमा अझै पनि रक्तदान गर्नुको महत्त्व बुझाउन आवश्यक रहेको बताउनुभयो ।
रक्तदान कार्यक्रमले जिल्लाका विभिन्न अस्पतालहरुमा बेलाबेलामा देखिने रगत अभावको समस्या समाधान गर्न सहयोग पुग्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी,दाङ रक्त सञ्चार सेवा केन्द्रका जिल्ला प्रमुख दिलिप न्यौपाने, राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्बासे, शेषकान्त आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया