दशरथ घिमिरे

देउखुरी । २०८० पुस २७ गते नेपालगञ्जबाट काठमाडौं जाँदै गरेका भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती नदी पुलबाट खसेको थियो । बस राप्ती नदीमा खस्दा दुई भारतीय नागरिकसहित १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका थिए । पुलको रेलिङ भाँचेर बस नदीमा खस्न पुगेको थियो । राप्ती पुल किनारमा अस्थायी ट्राफिक प्रहरी कार्यालय छ । ट्राफिक जाँच छलेर तीब्र गतिमा गुडेको बस पुलमा प्रवेश गरेलगत्तै फलामको रेलिङ भाँचेर दक्षिण किनारमा खस्न पुगेको थियो । पुलमा जोडिने बेलामा बाटो साँघुरो छ । तीब्र गतिमा गुडेको गाडी नियन्त्रणमा आउन कठिन छ । चेक प्वाइन्टदेखि झण्डै ३० मिटर पूर्व चालककै साइड दायाँबाट नदीमा खसेको थियो । बसको अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा थियो । यही बिहीबार विहान करिब साढे ७ बजे राप्ती पुलमा एउटा ट्रक दुर्घटनामा प¥यो । ट्रकले पुलको रेलिङसमेत भाँचेको थियो । ट्रक पुल माथि नै अडियो ।
ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुबाङले जनाएको छ । नेपालगञ्जबाट कपिलवस्तुको चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख ७२६४ नं. ट्रकको पट्टा भाचिदा दुर्घटनामा परेको थियो । ट्रकको अगाडिका दुईवटै पट्टा भाँचिदा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । ट्रक पुलको रेलिङमा ठोक्किए पनि पुलबाट तल खस्नबाट भने बचेको छ । ट्रकको दुर्घटनाबाट राप्ती पुलको पूर्वतर्फको रेलिङसमेत भाँचिएको छ । ट्रकमा चालक र सह चालक मात्र रहेका थिए । ‘पुलमाथि सवारी दुर्घटना बढेका छन् । यसले पुलमासमेत क्षति पुग्ने गरेको छ’– रोटरी क्लव अफ राप्तीका अध्यक्ष वासुदेव न्यौपानेले भन्नुभयो– ‘एकै स्थानमा पटक–पटक हुने दुर्घटनाका कारणहरु पत्ता लगाएर समाधानका विकल्पहरुमा काम गरिनुपर्छ ।’ पश्चिमबाट पूर्वतर्फ जाँदा साँघुरो हुने र पूर्वबाट पश्चिम आउँदा पुलको दक्षिण किनारमा बनेको शौचालयले अगाडिको दृश्य छेक्ने भएकाले दुर्घटना बढेको न्यौपानेको तर्क छ । पुलको लेन बढाउनुपर्ने र शौचालय हटाउनुपर्ने उहाँको भनाइ छ ।
राजमार्गमा रहेका अन्य पुलहरुमा समेत पटक–पटक दुर्घटना हुने गरेका छन् । २०७९ मा विराटनगरबाट धनगढी जाँदै गरेको ना ३ ख ४०९६ नम्बरको ट्रक गोपीनालामा बनेको पुलबाट तल खस्न पुग्यो । तीब्र गतिमा रहेको ट्रक पुलमा परेको खाडलमा परेर अनियन्त्रित हुँदा दुर्घटनामा परेको थियो । ट्रक चालक र सहचालकलाई केही भएन तर ट्रक दुर्घटनामा पर्दा भौतिक क्षति हुन पुगेको थियो । यस्तै, लमहीबाट भालुबाङतर्फ ट्रक तीब्र गतिमा अघि बढ्दै गयो । बिजौरी र मौरीघाटको सिमानामा रहेको गोपीनालाको पुल पार गर्न खोज्दा ट्रकको पट्टा भाँचियो, ट्रक झण्डै पल्टिएन । रोकिराखेको ट्रकमा बस ठोक्किन पुग्दा अर्काे दुर्घटना भयो ।
राजमार्गका पुल कतै जीर्ण, कतै सामान्य मर्मत मात्रै
पूर्व–पश्चिम राजमार्ग निर्माणको क्रममा बनेका पक्की पुलहरुले क्षमताभन्दा बढी भारबहन सहनुपरेको छ । पुल निर्माणपश्चात् समय–समयमा मर्मत गर्नुपर्ने भए पनि पूर्व–पश्चिम राजमार्गको दाङ खण्डमा बनेका पुलहरु जीर्ण बन्दै गएका छन् । राप्ती नदी र अन्य खोलामा बनेका पुलहरु सामान्य मर्मत गरिए पनि पुल माथि हुने दुर्घटनाले थप जोखिम निम्त्याएको छ । ‘४०÷४२ सालतिर बनेका पुलहरुले उतिबेलाको सवारी चापलाई थेग्ने अवस्था थियो तर अहिले सवारी चाप बढेको छ । पुलको क्षमता पनि समयअनुसार बढाउँदै लग्नुपर्ने अवस्था छ’– अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुबाङका प्रमुख भुपेन्द्रप्रसाद गौलीले भन्नुभयो– ‘जीर्ण पुलको पहिचान गरेर स्तरबृद्धिका लागि योजना बनाएर कार्यान्वयन गरिनुपर्छ । सवारी चाप अनुसार पुलको क्षमता बढाउनुपर्छ ।’
अर्जुन खोलाको पुल पनि जीर्ण छ । सडक डिभिजन कार्यालय दाङले सतही मर्मत गर्ने गरेको छ तर यी मर्मतले पुललाई थप थोत्रो बनाउँदै लगेको छ । पुलमा परेका खाल्टाका कारण सवारी दुर्घटना हुने गरेका छन् । दैनिक सयौंबढी सवारी साधन राजमार्गका साना ठूला पुल भएर गुज्रन्छन् तर पुलमा खाल्टाहरू पर्ने, मर्मत गर्ने काम चलिरहेको भए पनि पुल पुरानो हुँदा थप समस्या पर्ने जोखिम रहेको छ । पश्चिममा दाङ–बाँकेको सिमानामा पर्ने शिवखोलादेखि पूर्वमा कपिलवस्तुसँग जोडिएको धानखोलासम्म झण्डै ४१ वटा पुल तथा कल्भर्ट छन् । पुलमा भ्वाङ पर्ने, कालोपत्रे उप्किने, रेलिङहरू भाँच्चिने, पुलको बेरिङ फुत्किने, पुलको किनारा भासिनेजस्ता समस्या देखिदै आएका छन् । सडक डिभिजन कार्यालयले राजमार्गमा रहेका पुलको पनि नियमित मर्मत गर्दै आएको छ । जीर्ण रहेका पक्की पुलको मर्मत गर्ने काम यस वर्ष पनि चल्ने छ । ‘सानोतिनो मर्मत सडक डिभिजनले गर्छ । यो काम चलिरहन्छ’– सडक डिभिजन कार्यालय दाङका सवइञ्जिनियर महेश विश्वकर्माले भन्नुभयो– ‘हाम्रो तहबाट सम्पन्न गर्न नसकिने अवस्था भयो भने पुल महाशाखाबाट काम अघि बढ्छ ।’
यस बर्ष पुल मर्मतको लागि योजना माग गरेर पठाएको भए पनि बजेट अझै प्राप्त नभएको विश्वकर्माले बताउनुभयो । ‘बजेट माग गरेर पठाएका छौं । पुलहरुको मर्मतको काम पनि चल्नेछ’– उहाँले भन्नुभयो– ‘राजमार्गमा बढेका खाल्टा र पुलहरुको नियमित मर्मत गर्न बजेट माग गरेका हौं ।’ नदी तथा खोलामा आउने बाढीले कटान गर्दा पनि पुलमा जोखिम बढेको पाइएको छ ।

तपाईको प्रतिक्रिया