दाङ – लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। मुख्यमन्त्री जोखबहादुर महरालाई एमालेका पाँच जना मन्त्रीहरुले राजीनामा बुझाएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी, सहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसी र सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री महराले राजीनामा बुझ्नुअघि मन्त्रीहरुलाई भोज खुवाएका थिए।
अब वर्तमान सरकारमा माओवादीका मुख्यमन्त्रीसहित तीन, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ७ जना मन्त्री छन्। एमाले सरकारबाट बाहिरिएपछि महरा नेतृत्वको सरकार अल्पमतमा परेको हो।
केन्द्रमा एमाले र कांग्रेसको नयाँ समीकरण बनेपछि लुम्बिनीमा पनि त्यसको प्रभाव देखापरेको हो। २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तपाईको प्रतिक्रिया