
देउखुरी । विश्वमा नसर्ने रोगहरुबाट हुने मृत्यको संख्या बढिरहेको छ । जसमा सुर्तीजन्य पदार्थ सेवनबाट हुने मृत्युको संख्या अत्याधिक रहेको छ । विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुन गरेको छ ।
सन् २०१९ को राष्ट्रिय रोगभार प्रतिवेदन अनुसार नेपालमा कुल मृत्युको करिब ७१ दशमलव ७ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । नसर्ने रोगहरुमा करिव १८ प्रतिशत मृत्यु धुम्रपान सेवनबाट हुने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुँवरले जानकारी दिनुभयो ।
सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य शिक्षा अधिकृत कुँवरका अनुसार लुम्बिनी प्रदेशमा मात्र ३६ दशमलव ४ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनकर्ता रहेका छन् ।
सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानको न्युनीकरण सम्बन्धी एकदिने अन्तक्रिया कार्यक्रमका कार्यपत्र प्रस्तुत गर्दै कुँवरले सुर्तीजन्य पदार्थको सेवन न्यूनिकरणका लागि स्थानिय स्थरमा विशेष भूमिका खेल्न अनुरोध गर्नु भयो ।

बुधवार राप्ती गाउँपालिकाको सभाहलमा स्वास्थ्य निर्देशनालयको आयोजनामा स्थानिय जनप्रतिनिधि, होटल व्यवसायी, शिक्षक प्रतिनिधि, तथा संघसंस्थाहरु सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा तथा प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर वलीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित सम्पूर्ण प्रतिनिधिहरुले अवका दिन सुर्तीजन्य तथा मध्यपान नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुको साथै प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लाई टेकेर विद्यालय वरपर, सार्वजनिक स्थल हरुमा अनुगमन गरिने बताउनु भयो । उहाँले भननु भयो ‘हाम्रो आफ्नै नगर प्रहरी भएको भए अनुगमन गर्न धेरै सहज हुने थियो तर प्रशासन सहयोग लिएर भएपनि अनुगमन गर्नेछौं ।’

त्यसैगरी स्वास्थ्य पत्रकार मञ्च नेपाल लुम्बिनी प्रदेशका संयोजक बासुदेव न्यौपानेले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लागु गर्न संचार माध्यमले राम्रो भूमिका खेलेको स्मरण गराउँदै राप्तीमा यसको नियन्त्रणका लागि जस्तो सुकै भूमिका पनि निभाउने बताउनु भयो । न्यौपानेले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट तथा पार्सलमा ९० प्रतिशत चेतावनीमूलक सन्देश, चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ संचार माध्यमको निरन्तर खबरदारीले लागु गर्न सफल रहेको बताए ।
स्वास्थ्य निर्देशनालयका अधिकृत कुँवरले नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कार्यान्वयनको अवस्था, प्रगति, समस्या, अवको प्राथमिकता, स्थानीय तहबाट भएका प्रयास र स्थानीय तहको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
स्थानीय तहबाट ऐन कार्यान्वयन, प्रभावकारी अनुगमन, विद्यालय तथा समुदायस्थरमा व्यवहार परिर्वतन सम्बन्धी क्रियाकलाप संचालन, जनचेतना अधिवृद्धि, स्थानीय ऐन, नियम, निर्देशिका तर्जुमा मार्फत सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्नु पर्नेमा जोड दिइएको छ ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा सार्वजनिक स्थलहरुमा कसैले पनि धुम्रपान गर्न नपाईने, १८ वर्ष मुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, चुरोटको बट्टा मात्र बिक्रिवितरण गर्न पाउने, एक एक खिल्ली बिक्री गर्न नपाउने रहेको छ ।

तपाईको प्रतिक्रिया