
जगत खनाल
देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर २ निवासी तेजि न्यौपाने वर्षले ६९ पुग्नु भयो । बुढेसकाल सँगै उहाँमा विस्तारै हातगोडा दुख्ने समस्या देखा पर्न थाल्लो । उपचार गर्न कहाँ जाने भन्ने दोधार थियो नै, त्यसमाथी बुढेसकाल एक्लै जान नसक्ने । तर आज उहाँको मुहारमा खुसी भरिएको छ । खुसी हुनुको एउटै कारण थियो उहाँले आफ्नै गाउँघर मै विषेशज्ञ सेवा लिन पाउनु भएको छ । खुसी व्यक्त गर्दै न्यौपानेले भन्नु भयो ‘हातगोेडा दुख्ने समस्याले सताएको थियो । कहाँ जाने भन्ने सोचेको यही नै उपचार गर्न पाए ।’
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर एक भालुवाङ स्थित प्रस्तावित ५० शैया भालुवाङ अस्पताल (लालमटिया स्वास्थ्यचौकी) मा बुधबार निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यौपाने उक्त शिविर विशेषज्ञ चिकित्सकबाट सेवा लिने मौका पाउनु भयो । शिविरमा १ सय २० जना महिला र ८० जना पुरुष गरि २ सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ।
राप्ती गाउँपालिका दाङको आयोजना तथा प्रकृति हेल्थ केयर प्राइभेट लिमिटेड बुटवल, रूपन्देहीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकृतिराज कडेल, डा. राजकृष्ण श्रेष्ठ, जनरल फिजिसियन तथा ग्यास्ट्रोलोजिष्ट डा. खलिल मियाँ, जनरल सर्जन नविन श्रेष्ठ, रेडियोलोजिष्ट डा. तृष्णा श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. दृष्टि पौडेल लगायत एक दर्जन बढी स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो ।
त्यस्तै शिविरमा स्वास्थ्य चेकजाँच गराएका बिरामीहरुलाई आवश्यक स्वास्थ्य परामर्श दिनुका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो।
शिविरको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर र पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले पानसमा बत्ती बालेर संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो।
सो अवसरमा बोल्दै उहाँहरुले नागरिकको सबैभन्दा ठुलो सम्पत्ति स्वास्थ्य भएको बताउदै उनीहरुलाई गाउँघरमै स्वास्थ्य सेवा पुर्याउनु राज्यको कर्तव्य भएको बताउनुभयो थियो ।
तपाईको प्रतिक्रिया