
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज बिहिवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एकै दिन दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
बिहीबार उनले पहिलो चरणमा एमालेका भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री महराले गत चैत २५ गते मन्त्री नियुक्त गरेका तीन जना मन्त्रीलाई मन्त्रालय पनि तोकेका थिए। जसअनुसार, चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दिपेन्द्रकुमार पुन स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।
बिहीबारको विस्तारसँगै सरकारमा माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको सहभागिता सँगै मन्त्रीको संख्या पनि १० पुगेको थियो। यसअनुसार, मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो।
मुख्यमन्त्री महरा एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने अडानमा थिए । सोही अनुसार १० जना मन्त्री मण्डललाई पूर्णता दिएका महराले अन्तत एकीकृत समाजवादीकी भगवती अधिकारीलाई पनि विना विभागीय मन्त्री नियुक्त गरिएको छन्। बिहीबार पहिलो विस्तार भएको दुई घण्टापछि नै दोस्रो विस्तार भएको सूचना प्रकाशित भएको थियो।
गत चैत २२ गतेको सात बुँदे सहमति कार्यान्वयन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने र एकीकृत समाजवादीलाई गरिएको अपमानको असर अन्य प्रदेशमा पनि पर्ने भगवती अधिकारीको चेतावनीपछि मुख्यमन्त्री महरा उनलाई मन्त्री नियुक्त गर्न बाध्य भएका हुन्।
चैत २२ गते चार दल र स्वतन्त्र सांसदबीच भएको पाँच बुँदे सहमति सार्वजनिक गरिएको भए पनि सात बुँदे सहमति भने गोप्य राखिएको थियो।
लुम्बिनीमा मन्त्रालयको संख्या अहिले १० मात्रै रहेपनि बिहीबारको विस्तारसँगै मुख्यमन्त्री र मन्त्रीको संख्या ११ पुगेको छ। अर्कोतर्फ, गठबन्धनमा भइरहेको किचलोले मन्त्रालयको संख्या अझै बढ्ने सम्भावना बढेको छ।
मन्त्रीमण्डल बिस्तारसँगै लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् ।

तपाईको प्रतिक्रिया