चित्रमा विद्यार्थीले पस्किए लुम्बिनीको राजधानी शहर

दशरथ घिमिरे

 

देउखुरी । तेजल चन्दको घर कर्णाली प्रदेशको सुर्खेतमा पर्छ तर उहाँ अहिले राप्ती प्राविधिक शिक्षालय गोवरडिहमा अध्ययनरत हुनुहुन्छ । लुम्बिनी प्रदेशको राजधानी निर्माणको बारेमा उहाँलाई जानकारी छ । अबको राजधानी शहर कस्तो हुनुपर्छ भन्ने सोच उहाँले चित्रमा उतार्नुभएको छ । नदी सभ्यतामा आधारित हरित शहरको परिकल्पना उहाँको छ । जुन परिकल्पनाका साथ चित्र कोर्नुभयो त्यो चित्रले उत्कृष्ट पुरस्कार समेत हात पार्न सफल भयो ।

‘हाम्रो पुरानो रैथाने वस्तीहरु छन् । कला संस्कृतिहरु छन् । तिनको संरक्षण गर्दै आधुनिक शहर बनाउन जरुरी छ । त्यही कुरा मैले चित्रमा उतारेको हुँ’– उहाँले भन्नुभयो– ‘हाम्रा पहाडमा केवलकार चलाउन सकिन्छ । तराईका फाँटमा खेती र ठूला भवन बनाउन सकिन्छ । प्रशस्त मात्रामा खुला क्षेत्र चाहिन्छ ।’ जनता माध्यमिक विद्यालय कालाकाटे कक्षा १० मा अध्ययनरत हिमा अधिकारीले भद्रगोल शहरलाई विस्थापित गर्दै व्यवस्थित शहरको परिकल्पना गर्नुभएको छ । अहिले धान फल्ने खेतमा पक्की घरहरु निर्माण भइरहँदा त्यसले भविष्यको शहर कुरुप बनाउने चिन्ता उहाँमा देखिएको छ तर अब बनाउने राजधानी शहर व्यवस्थित हुनुपर्छ भन्ने भावना उहाँले आफ्नो सिर्जनाबाट व्यक्त गर्नुभएको छ । ‘व्लक आधारमा विकास मोडेल चाहिएको छ । एक ठाउँमा शिक्षण संस्था, अर्काे ठाउँमा स्वास्थ्य, कृषि, शहर यसैगरी व्लकहरु बनाइनुपर्छ’– उहाँले भन्नुभयो– ‘भद्रगोल शहर होइन, व्यवस्थित शहर चाहिएको छ । यसका लागि सरकारले ध्यान दिनुपर्छ ।’

सर्वाेदय माध्यमिक विद्यालय सिसहनियामा अध्ययनरत विद्यार्थी पवन परियारले नदीलाई विकासको मोडेल बनाउनुपर्ने संकेत गर्नुभएको छ । पहाड, तराई र नदीलाई विकाससँग जोड्न सकियो भने सोचे अनुसारको भविष्यको शहर बनाउन सकिन्छ भन्ने सन्देश उहाँको छ । भोलिको राजधानी शहरबारे विद्यार्थीहरुले रचनात्मक अभ्यासमार्फत आफ्नो सहभागिता जनाएका छन् । अबको शहर सबैखाले विपत्बाट सुरक्षित, हरियाली, व्यवस्थित, समुन्नत, आधुनिक बनाउनुपर्ने सुझाव विद्यार्थीको छ । लुम्बिनी प्रदेश सरकारले अबको २० वर्ष भित्र व्यवस्थित राजधानी शहर निर्माण गर्ने परिकल्पना गरेको छ । राजधानी गुरुयोजना निर्माण गरेर त्यसको कार्यान्वयन चरणमा रहे पनि विद्यार्थीहरुबाट प्राप्त भएका सुझावलाई कार्ययोजनामा समेट्न सकिने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो । ‘यो विद्यार्थीहरुको विकासप्रतिको चेत, भोलिको राजधानी शहरबारे गरेको परिकल्पना खेर जाँदैन । यसलाई हामीले कतै न कतै समेट्छौं’– उहाँले भन्नुभयो– ‘एक दुई वर्षलाई होइन, एक सय वर्षसम्मको विकासलाई सोचेर राजधानी शहरको डिजाइन गरिएको छ ।’

भावी पुस्ताले राजधानी शहरको अनुभूति गर्न पाउने भएकाले त्यस अनुसार शहर निर्माणको अवधारणा विकास गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी शहरलाई सबैले अपनत्व गर्नुपर्ने, त्यसका लागि विद्यार्थीको माध्यमबाट हरेक घरमा सकारात्मक सन्देश पु¥याउन सकिने बताउनुभयो । ‘हामीले अहिले आफ्नै देशमा देखेका कतिपय शहरहरु कुरुप छन् । अव्यवस्थित छन्् । तर अब बनाउने शहर त्यस्तो हुनेछैन । व्यवस्थित र बस्न मिल्ने शहर बन्नेछ’– अध्यक्ष विष्टले भन्नुभयो– ‘हामीले बनाउने शहर सबै हिसावले उत्कृष्ट हुनेछ ।’ भूकम्प प्रविधि राष्ट्रिय समाजका उपकार्यकारी निर्देशक रमेश गुरागाईंले भोलिको शहरलाई सबैखाले विपत्बाट सुरक्षित, समुन्नत र समतामूलक बनाउन सबै पक्षबाट जोड रहेको बताउनुभयो । विद्यार्थीहरुले दिएका सुझावहरुलाई योजना निर्माण र कार्यान्वयनको चरणमा लैजान सकिने भएकाले यस विषयलाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ‘परम्परागत संस्कृति, वस्तीहरुको संरक्षण र नयाँ आधुनिक पूर्वाधार, विकास मोडेललाई पनि अँ‘गाल्नुपर्ने राय विद्यार्थीहरुको छ’– उहाँले भन्नुभयो– सबै पक्षको सुझावलाई समेट्न सक्दा राजधानी शहरलाई सबैले अपनत्व गर्ने वातावरण बन्ने, जुन निकै उपलब्धिमूलक रहन्छ ।’

चित्रकलामा विद्यार्थीको उत्साह

भावी राजधानी शहरको बारेमा विद्यार्थीहरुमाझ भएको चित्रकला प्रतियोगितामा राप्ती प्राविधिक शिक्षालयमा अध्ययनरत तेजल चन्द प्रथम हुनुभएको छ । जनता माध्यमिक विद्यालयमा अध्ययनरत हिमा अधिकारी द्वितीय, सर्वाेदय माध्यमिक विद्यालयमा अध्ययनरत पवन परियार तृतीय, सरस्वती माध्यमिक विद्यालयका रोजन बुढा मगर, आदर्श माध्यमिक विद्यालयका भुवन पुन, सोही विद्यालयका दिपा पुन मगर सान्त्वना हुनुभएको छ । नौवटा विद्यालयका ३७ जना विद्यार्थी प्रतियोगितामा सहभागी भए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी र उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण भूकम्प प्रविधि राष्ट्रिय समाजका प्रबन्धक खड्गसेन वलीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया