कारागार भित्र लागुऔषध कसरी छिर्छ? यो प्रश्नको उत्तर दिने घटना भर्खरै बर्दिया कारागारमा भएको छ। काँचो माछा भित्र लागुऔषध ब्राउन सुगर प्याक गरेर जेल भित्र पठाउने गरिएको घटना सार्वजनिक भएको छ।

माछा भित्र ब्राउन सुगर प्याक गरेर जेलमा रहेका कैदी साथीलाई उपहार दिन खोज्ने एक जनालाई बर्दिया कारागारको सुरक्षामा खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्ती का २२ वर्षीय विजय तिरुवा छन्।
अवैध लागूऔषध ब्राउन सुगरको धुलो पदार्थ ५ सय २० मिलिग्राम सहित बुधबार दिउँसो कागारको सुरक्षामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले उक्त परिमाणको ब्राउन सुगर काँचो माछा भित्र प्याक गरेर जेलमा रहेका आफ्ना कैदी साथीलाई उपहार दिन खोजेका थिए। सोही बेलामा उनी पक्राउ परेका हुन्।
लागुऔषधको कसुरमा जेलमा रहेका व्यक्तिलाई भेट्न भनेर कारागार पुगेका उनले माछा उपहार भन्दै लगेका थिए। काँचो माछाको टाउकाको भागको गिल भित्र ब्राउन सुगर हालेर लिएर गएका थिए। उनले ल्याएको काँचो माछा प्रहरीले हेर्ने क्रममा माछा भित्र ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुधीरराज शाहीले जानकारी दिए।
‘कैदी साथीलाई उपहार भनेर माछा लिएर आएका रहेछन्। प्रहरीले शंका लागि माछा खोलेर हेर्दा माछाको गिल भित्र ब्राउन सुगर लुकाइएको भेटिएपछि हामीले पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ एसपी शाहीले भने।

तपाईको प्रतिक्रिया