
तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ।
पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ किसानहरुको पशुचौपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गर्न लागेको हो।
गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगको सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)को प्राविधिक सहयोगमा वडा नं. ४ को गोपीनाला स्थित पशु उपचार केन्द्रमा बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरेको छ।
राप्ती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष वीर बहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाको विशिष्ट आतिथ्यतामा
शिविर उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पशुपंक्षीहरु मध्ये कुकुर मानिसको सबै भन्दा नजिकको साथी भएको र घर लगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले पालिकाले उन्मुलन नभई व्यवस्थित गर्न लागेको बताउनुभयो ।
त्यस्तै उहाँले सामुदायिक (छाडा) कुकुरहरुलाई समयमै व्यवस्थित नगर्ने हो भने किसानहरुको पशुचौपायलाई क्षति पु¥याउनुको साथै संघातीक रोग रेविज फैलन सक्ने तर्फ समेत सचेत गराउनु भयो ।
‘गत वर्ष नै यस खालको कार्यक्रम गर्ने योजना बनाएका थियौं तर बजेट अभावले गर्न सकिएन । विष्टले भन्नुभयो, ‘यस वर्ष निति तथा कार्यक्रममा नै राखेर यो कार्यक्रम गरेका छौं।’
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले व्यक्तिले घरमा पालेको कुकुरहरुलाई बेलाबेलामा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरेतापनि सामुदायिक (छाडा) कुकुरहरूको उपचार गर्ने, भ्याक्सिनेसन गर्ने काम राज्यको भएको बताउनुभयो ।
पशु चिकित्सक प्रतिमा विष्टले सामुदायिक कुकुरको संख्यामा कमी लयाउन र रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि बन्ध्याकरण तथा रेविज खोप शिविरले ठुलो सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वडा सदस्यहरू रोशन चौधरी, चम्फा पुन, हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा) का प्रमुख खगेश्वर शर्मा ,पशु उपचार केन्द्र गोपीनालाका प्रमुख कमल पुन मगर लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।
पालिकाका पशु शाखा प्रमुख जिवराज पौडेलले स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पशु शाखाका अधिकृत दामोदर आचार्यले गर्नु भएको थियो ।
शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण र उपचार गर्ने गरिएको छ।
बनध्याकरण गरिएका कुकुरहरुलाई बन्ध्याकरण गरी नियन्त्रणमा लिएकै स्थानमा लगेर छोड्ने गरिएको छ ।
शिविर आगामी मंसिर १६ गते सम्म सञ्चालन हुने बताइएको छ।

तपाईको प्रतिक्रिया