देशमा बेला बेला आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके ठुलो दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । कोरोना महामारी लगत्तै हाल डेंगु महामारीसँग जुधेको बेला राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, ट्रिपल मिडिया र सेभ द चिल्ड्रेनको संयुक्त प्रयासमा समाजमा गलत सन्देश जान नदिने उद्देश्यले पत्रकारहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम राखिएको हो ।

दुई दिन सम्म चलेको “जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका” विषयक अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूले जोखिममा सम्प्रेषण गर्दा तथ्यमा आधारित नभएको खण्डमा ठूला दुर्घटनाहरू हुन सक्ने बताए ।
अधिकारीहरूले अन्य विधामा कलम चलाउने भन्दा स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर कलम चलाउने पत्रकारहरू एकदमै संवेदनशील हुनुपर्ने बताए । उनीहरूले जोखिम समयमा सचेत भएर कलम चलाउन सुझाव दिएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले स्वास्थ्य पत्रकारिता गर्दा व्यक्तिको मौलिक हकलाई मध्यनजर गर्दै गोपनीयता कायम राखेर समाचार लेख्नुपर्ने बताए । उनले प्रमाणबेस लेखन नभए ठूलो क्षति पुग्ने पनि स्पष्ट पारे ।
कोभिडको चरम विन्दुमा आफु स्वास्थ्य सेवा विभागको महानिर्देशक हुदा गर्नु परेको खोपको उचित व्यवस्थापन र मिडियाको प्रेसरलाई सम्झदै यस्तो जोखिमका बेला सुचना प्रवाहमा हतार गर्न नहुने बताए । जोखिमका बेला सुचना समेत पुर्णरुपले तयार नभएकाले आधा जनतामा पुग्दा त्यसले छुटै सन्देश र अर्थ लाग्ने सदस्य बिच्छाको तर्क छ ।
स्वास्थ्य तथा जनसंख्या सचिव डा रोशन पोखरेलले पत्रकारले हरेक सूचना सम्प्रेषण गर्दा समुदायमा पर्ने असरको विषयमा ख्याल गर्नु पर्ने बताए । उनले सञ्चार माध्यममा समाचार सम्प्रेषण हुने सामग्रीले समाजमा सकारात्मक र नकारात्मक दुबै असर पर्ने बताए । साधारण जनताले बुझ्ने र गलत अर्थ नलाग्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले जोखिमको अवस्थामा सही र सत्य सुचनालाई तौलिएर मात्रै जनतामाझ पुर्याउन मिडियाले भूमिका निभाउनु पर्ने बताए । उनले यस्ता कार्यक्रमले पत्रकार र समाजलाई सुसूचित गराउने भएकाले समय समयमा राख्नुपर्ने पनि बताए । महामारीको समयमा अन्य समयको जस्तो सहज उपलब्धता नहुने भएकाले त्यसलाई पनि ध्यानमा राखेर समाचारहरू लेख्न उनले पत्रकारलाई आग्रह गरे ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले वैज्ञानिक र तथ्यपरक छ कि छैन भन्ने जाँचेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् । जोखिम सञ्चारमा एकरूपता ल्याउँनुपर्नेमा उनको जोड रहेको छ । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले समाचार लेख्दा प्रयोग गरिने शब्दहरूमा ध्यान दिनुपर्ने बताए । कहिले काही सही समाचार भएपनि शब्दका कारण दुर्घटना निम्तिन सक्छ उनले भने ।
स्वास्थ्य सेवा विभाग अन्तगर्त स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले जोखिम सञ्चारमा तथ्यपरक सूचना सम्प्रेषण महत्वपूर्ण रहने बताइन् । उनी भन्छिन् जव कुनै विपत, प्राकृतिक प्रकोप वा अन्य रोगजन्य संक्रमणका कारण समाज जोखिममा पर्छ त्यसबेला अरु समयको भन्दा बढि मात्रामा सही सूचना आवश्यक पर्छ । तसर्थ स्थानीय निकाय, जनसमुदाय, संचारकर्मीहरुको बढि भूमिका रहन जान्छ ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले जोखिमका बेला भ्रम तथा हल्लाहरु पनि निकै बाहिर आउने गरेको सुनाए । उनले कोभिडको समयमा फरक फरक व्यक्तिहरूले आफू अनुकुल सन्देशहरू दिदा जनतामा नराम्रोसँग भ्रम पैदा भएको बताए । त्यसलाई चिर्नेकाम सञ्चार माध्यमको भएकाले समाचार लेख्दा विशेष ध्यान दिनुपर्ने बताए । स्वास्थ्य जस्तो प्रत्यक्ष जनतासँग जोडिएको विषयमा ब्रेकिङ समाचारको पछि लाग्न नहुने उनको तर्क छ ।
यस्तो समयमा एकातिर समन्वय, सहकार्य, विश्वासको बढि आवश्यकता पर्छ भने अर्को तर्फ जनमानसमा सही सूचना पुयाउनुको साथै भ्रम तथा हल्लाहरुको निदान गर्दै जानुपर्ने अवस्था रहन्छ । व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले कोभिड महामारीको जोखिम पछि स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि भएको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले कोभिडको महामारीमा अनावश्यक हल्ला, कोभिड विरुद्धको खोपको बारेमा भ्रमहरू फैलाईएकाले खोप माथि आम जनताको अविश्वास बढेको बताए । गलत सन्देशले गर्दा नागरिकमा अनावश्यक डर उत्पन्न भई खोप लगाउनमा हिचकिचाहट भएको समेत स्मरण गराए ।
गलत सूचनाका कारण कोभिडका समयमा स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरूलाई गाउँ टोल प्रवेशमा रोक लगाएका घटनाहरू समेत हामी माझ ताजै रहेको उनले बताए । यी सबै गलत सूचनाका कारण उत्पन्न भएका घटनाहरू हुन् ।

तपाईको प्रतिक्रिया