
देउखुरी। राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको रोक्का जग्गा तत्काल फुकुवा गर्न माग गर्दै चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेले बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएर अध्यक्ष बेल्वासेले सो ध्यानाकर्षण पत्र बुझाएका हुन् । करिव ३ वर्ष देखि रोक्का रहेको जग्गा फुकुवा नहुँदा आजिद भइसकेका जनताहरूलाई आन्दोलनमा जान बाध्य नपार्न सुझाव दिदै सो ध्यानाकर्षण पत्र बुझाइएको हो । जवाफमा मुख्यमन्त्री चौधरीले आफू दिनहुँ जसो त्यसै काममा लागेको र राजनीतिक सहमति नजुटेका कारण जग्गा फुकुवा गर्न ढिलाई भएको बताए ।
भदौ १४ गते प्रदेश स्तरको राजनीतिक दल सम्मेलित बैठक बसेर राजनीतिक सहमति भएमा भदौ १५ सम्म जग्गा फुकुवा हुने बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन चेम्बरका अध्यक्ष नेमलाल बेल्वासे, निवर्तमान अध्यक्ष कुमार अधिकारी, महासचिव वसन्त कुवर क्षेत्री, युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदी र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता गएका थिए ।

तपाईको प्रतिक्रिया