काठमाडौं । सशस्त्र प्रहरी बलका तत्कालीन नायब महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएसँगै कोइरालालाई पक्राउ गर्न प्रहरीलाई सर्कुलर भएको छ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले यसअघि गरेको फैसला उल्टाउने फैसला सुनाएको हो। यसअघि गत असार १५ गते हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो।
करिव साढे ८ वर्ष कैद सजाय भोगेर सर्वोच्च अदालतको फैसलालगत्तै रिहा भएका कोइराला अब थप साढे ११ वर्ष कैद बस्नुपर्नेछ । सर्वोच्च अदालतले आजै लिखित आदेश दिएमा तत्काल जिल्ला अदालतमार्फत फैसला कार्यान्वयनका सिलसिलामा कोइरालालाई पक्राउ गरी कैद गर्नुपर्ने हुन्छ ।
पत्नीको हत्या गरी शवसमेत नष्ट गरेका पूर्वडीआईजी कोइरालालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले समेत त्यो फैसला सदर गरेको थियो । फैसला विरुद्ध कोइराला सर्वोच्च अदालतमा गएका थिए । साढे ८ वर्ष कैद भुक्तान गरेमा न्यायको मकसद पुरा हुने भन्दै जबरा र केसीले जन्मकैदको राय उल्ट्याएका थिए ।

तपाईको प्रतिक्रिया