लुम्बिनी प्रदेश सरकारको निर्णयः स्वास्थ्य सचिवमा डा. विनोदकुमार गिरी

 

 

देउखुरी । डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा थिए ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले तीन जना चिकित्सकको जिम्मेवारी पनि हेरफेर गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश अन्तरगर्तका अस्पतालमा कार्यरत मेसु तथा बरिष्ठ चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरीटेन्डन्टमा डा सुदर्शन थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सरुवा गर्ने निर्णय गरेको छ भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गर्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया