
देउखुरी। राजपुर गाउँपालिका भित्र रहेका खोला तथा नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । स्थानीय तहले निगरानी गर्ने जिम्मेवारी रहेपनि अवैध काम भइरहदा पनि ध्यान नदिएको आरोप लागेको छ ।
गाउँपालिकामा क्रियासिल राजनीतिक दलको तर्फबाट डेलिगेसन गएर ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको नेकपा एमाले राजपुर गाउँपालिका कमिटिका अध्यक्ष हेमकुमार जिसीले जानकारी दिए । उनका अनुसार अहिले राप्ती नदी र अन्य खोलाहरुमा जथाभावी उत्खनन् भइरहेको छ ।
दलको तर्फबाट स्थलगत अनुगमन गर्दा तोकिएको भन्दा धेरै उत्खनन् गरिएको पाइएको उनले बताए ।‘निकाल्न पाउने ५० मिटर चौडाई, ४५० मिटर लम्बाई र ८० सेन्टिमिटर गहिराई हो । तर, यहाँ २५० मिटर लम्बाई, ५० मिटर चौडाई, २।५ देखी ३ मिटर गहराईका ३ वटा खाडल बनाएर उत्खनन् भइरहेको छ’उनले भने,‘उत्खनन्मा तीन वटा जेसिवी प्रयोग भएका छन् । उठाउन पाउने परिणम भन्दा बढी उठाईसकेका छन् ।’ राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलहरुको सर्वदलिय बैठकले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न माग गरेको छ ।

साथै बैठकले पालिकाले सेवाग्राहीबाट लिने राजश्वको दस्तुर बस्तुबादी नभएको भन्दै राजपुर गाउँपालिकाको ध्यानाकर्षण गराउने साथै मंगलबार गाउँपालिकामा समसामायिक समस्याको ध्यानाकर्षण गराउन डेलिगेसन जाने निर्णय गरेको छ ।
नेकपा एमाले राजपुर गाउँपालिका कमिटिका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका ईञ्चार्ज चक्रबहादुर खड्का, राप्रपा क्षेत्र नं. १ का उपाध्यक्ष ऋषिराम घिमिरे, जनमत पार्टीका सचिव गयाप्रसाद यादव, राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष राजकुमार विश्वकर्मा, नेकपा एमालेका जिल्ला सल्लाहकार गोविन्द विक, राट्रिय जनमोर्चाका जिल्ला सदस्य रामफकिरे रैदास, माओवादी केन्द्र वडा नं. २ का ईञ्चार्ज दुर्गाप्रसाद शर्मा, नेकपा एमाले राजपुर गाउँपालिका कमिटिका सचिव अम्मरराज गिरी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया