लुम्बिनी प्रदेशसभा बैठकः अल्पमतको सरकारले मार्गप्रशस्त गर्नुपर्ने विपक्षी सांसदको माग

 

 

देउखुरी । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको सातौं बैठकमा लुम्बिनी प्रशिक्षण प्रतिष्ठान स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ।

मुख्यमन्त्री लिला गिरीको तर्फबाट स्वास्थ्यमन्त्री विष्णु पन्थीले विधेयक सभामा पेश गरेका हुन्।

बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा सम्बोधन गरे। विशेष समयमा सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरुले सरकार बनाउने र गिराउने खेलले जनतामा निरासा छाएकोप्रति ध्यानाकर्षण गराएका छन्।

सत्तापक्षका सांसदहरुले संविधानविपरीत एक मिनेट पनि सरकारमा नबस्ने तर संविधानअनुसार अघि बढ्ने सम्बोधनको क्रममा बताए।

विपक्षमा रहेका प्रदेशसभा सदस्यहरुले सरकार अल्पमतमा परेकाले मार्गप्रशस्त गर्न माग राखेका छन्। १९ जना प्रदेशसभा सदस्यले विशेष समयमा सम्बोधन गरेका छन्।

मंगलबार ११ बजे पहिलो अधिवेशनको आठौं बैठक बस्दैछ। केन्द्रमा फेरिएको राजनीतिक समीकरणले गर्दा लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ।

५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तिको माग गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिएको छ। चैत १२ गते उक्त दाबी पेश गरिएको हो। मुख्यमन्त्री गिरीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।

तपाईको प्रतिक्रिया